जुम्ला । मनसुन भित्रिन थालेपछि जुम्लाका स्थानीयतह विपद् पूर्वतयारीमा जुटेका छन् । प्राकृतिक प्रकोप जन्य घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटो छरितो राहत उद्धार र पुनर्स्थापना लागि स्थानीयतह विपद् पूर्वतयारीमा जुटेका हुन् । जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाले आगामी आवको बजेटमा विपद् व्यवस्थापनका लागि न्यूनतम १५ लाख देखि ५० लाख सम्म बजेट विनियोजन गरेका छन् ।
सोमबार जिल्ला प्रशासनमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा जुम्लाका आठै स्थानीयतहका प्रमुख र उपप्रमुखले विपद् जोखिम न्यूनीकरणका लागि अन्तरपालिका बीच प्रभावकारी समन्वय र सहकार्य गर्ने प्रतिबद्धता गरेका छन् ।
पूर्वसूचना प्राप्त, तत्काल जनशक्ति परिचालन, राहत उद्धार तथा पुनर्स्थापना लागि अन्तरपालिका बीच हातेमालो हुनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बताउनुभयो । उनले भने,“विगतमा समन्वय नहुँदा जोखिम न्यूनीकरण तथा राहत उद्धारमा ढिलाइ भयो । पूर्वतयारी पनि मजबुत देखिएन । मनसुन भित्रिन थालेकोको छ । योजना सहितको पूर्वतयारीमा सबै स्थानीयतह एकजुट हुनु आवश्यक देखिएको छ ।”
चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले विपद् पुर्वतयारीसंगै विपद् प्रतिकार्य योजना निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । जुगाड खोला सरसफाई देखि बाढी पहिरो लगायतका घटनाबाट प्रभावितको राहत उद्धारमा नगर तयार रहेको उनको भनाई छ ।