कोहलपुर,। बाँकेका अधिकांश कृषक रोपाईंको तयारीमा छन् । तर, उनीहरु बिना मलको रोपाईंमा जुटेका छन् । धानको बिउ पनि मल बिना नै छरेको कृषक भुल्लन खाँले बताए । ‘सहकारीमा जति नै धाउँदा पनि मल पाउँन सकिदैन, मल नपाउँदा भारतीय बजारमा जाने गरोका छौं, तर, अहिले त्यो पनि गर्न पाएका छैनौं ।’ उनले भने ।
भारतबाट मल ल्याउँदा मान्छेलाई नै प्रहरीले पक्राउ गर्न थालेकाले आफूहरु मर्कामा परेको उनले बताए । सरकारले मल नदिने र किनेर ल्याएको मल सुरक्षाकर्मीले नियन्त्रण गर्दा लगानी पनि डुबेको खाँले बताए ।
बाँकेका किसानले नेपालगञ्ज, नरैनापुर, डुडुवाको होलिया, हिरमिनिया, खजुराको राधापुर र जानकी गाउँपालिकाको साईगाउँलगायतका नाकाबाट रासायनिक मल ल्याउने गरेका छन् । यी नाकाबाट मल ल्याउँदा सुरक्षाकर्मीले दुःख दिने गरेको उनीहरुको गुनासो छ । भारतबाट साइकल र मोटरसाइकलमा ल्याएको मल बाँकेको कोहलपुर, बैजनाथ र राप्तीसोनारी गाउँपालिकासम्म पुग्ने गरेको छ ।
मल नरोक्न प्रशासनको निर्देशन
जिल्ला प्रशासन कार्यालय बाँकेले किसानले भारतबाट मल ल्याउदा कुनै प्रकारको बाधा नपुर्याउन निर्देशन दिएको छ । विभिन्न राजनीतिक दल र किसानले मल आपूर्ती सहज बनाउन माग गरेपछि भारतबाट मल ल्याउने किसानलाई बाधा नपुर्याउन नाकामा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मध्यान्हलाई जानकारी दिए ।
वास्तविक किसानको पहिचान गरि मल ल्याउने किसानलाई दुःख नदिन नाकामा खटिएका सुरक्षाकर्मीलाई दिइएको उनले बताए । उनले रासायनिक मल नहुँदा कृषकले धान रोप्न नसकेको गुनासो आएपछि मल ल्याउन सहज वातावरणको सृजना गरिएको जानकारी दिए ।