☰ open Loading... 16 November 2024|  

दुर्घटना न्यूनीकरणको लागि चालकलाई प्रशिक्षण
  | १५ असार २०७९, बुधबार ०५:२२

यामराज बिष्ट
दैलेख। सवारी दुर्घटना न्यूनीकरणको लागि दैलेखमा सवारी चालकलाई प्रशिक्षण दिइएको छ । नेपालमा हुने अधिकांश दुर्घटना चालकको कारण हुने भएकोले सवारी साधनका चालकलाई लक्षित गरेर सचेतना अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

 

सवारी चलाउँदा सिट क्षमता अनुसार यात्रु राख्ने, हेलमेट लगाउने, सवारी चालकले मदिरा सेवन नगर्ने, सवारी साधनको नियमित चेक जाँच लगायतका विषयमा जिम्मेवार बनेमा दुर्घटनामा कमी आउने दैलेख प्रहरी प्रमुख भुवेनेश्वर प्रसाद साहले बताए । उनले सवारी साधन चलाउँदा सानो लापरबाहीले पनि दुर्घटना हुने भएकाले सबै पक्ष मिलेर दुर्घटना न्यूनीकरणमा ध्यान दिन आग्रह गरेका छन् ।

 

सवारीसाधन चलाउँदा ओभरटेक नगर्ने र दूरी कायम गरेर सवारीसाधन चलाउनका लागिसमेत प्रहरीले चालकलाई सम्झाउने बुझाउने गरेका छन् ।

यस्तै कार्यक्रममा चालकहरूलाई ट्राफिक नियमको बारेमा प्रशिक्षण दिने र दुर्घटना कम गराउने उद्देश्यका साथ अभियान संचालन गरिएको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख प्रहरी साहयक निरीक्षक खड्क बहादुर रानाले बताए । यो अभियान निरन्तर संचालन हुने उनले जानकारी दिए ।