दैलेख- दैलेखमा एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । ठाटिकाध गाँउपालिका वडा नं -१ की ३८ वर्षीया जौउकला भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।
जौउकलाको अत्यधिक रक्तस्राव भएपछि ‘अकालमा ज्यान जान दिनुभएन त्यसैले राष्ट्रपति महिला उद्धार कोषमार्फत शुक्रबार बिहान ११बजेतिर हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।
जिल्लामा गर्भवती महिला र दुईवटा बच्चाको स्वास्थ्यमा जोखिम भएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरी बिनाको हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।
लगातार लामो प्रसव व्यथा लागेका, बच्चा जन्मिन कठिनाई भएको, आमा र पेटमा रहेका २वटा बच्चाको स्वास्थ्य अवस्था कम्जोर रहेकोले स्थानिय चौकीमा प्रशुति गराउन नसकिने चिकित्सकले सल्लाह दिएपछि उनको उद्धार गरेर सुर्खेत लगिएको हो ।हालसम्म दैलेखबाट मात्रै साउनदेखि यता सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत १८ जनाको उद्धार भइसकेको छ ।