☰ open Loading... 18 November 2024|  

चुइगम पड्काएरै सके नेपालीले ४१ करोड
  | १९ असार २०७९, आईतवार ०५:१४

काठमाडौं : अनावश्यक ठानिएका वस्तुको आयात गरेर ठूलोमात्रामा विदेशी मुद्रा खर्च गरेर नेपालीले आफैँलाई थप परनिर्भर बनाइरहेका छन् । विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको आयात निर्यातसम्बन्धी विवरणानुसार जेठ मसान्तसम्म मुलुकमा १३ लाख दुई हजार १९५ किलो चुइगम आयात भएको छ ।

 

विभागका अनुसार सो परिमाणको चुइगम आयात गर्न मुलुकबाट ४० करोड ८४ लाख ६७ हजार रुपैयाँ नेपाली रकम बाहिरिएको छ । नेपालमा विशेष गरी, चीन, भारत र युरोपेली देशबाट चुइगम आयात हुने गरेको छ । त्यस्तै यस अवधिमा चकलेट र यससँग सम्बन्धित वस्तु आयातमा दुई अर्ब ८३ करोड ८८ लाख ८१ हजार रुपैयाँ बराबरको रकम बाहिरिएको छ । एघार महिनाका अवधिमा ८० लाख ६१ हजार ६३६ किलो चकलेट र चकलेट बनाउन प्रयोग हुने कच्चा सामग्री आयात भएको छ । यस्तै कुरकुरे, कुरमुरे, लेज, चिजबल्स जस्ता खानेकुराको आयातसमेत करोडौँमा हुने गरेको छ ।

 

चालु आवको पहिलो ११ महिनामा १४ लाख २४ हजार ३६९ किलो बराबरको त्यस्ता खानेकुरा आयात भएको छ । त्यसका लागि मात्रै मुलुकबाट ६६ करोड ६५ लाख २५ हजार रुपैयाँ बराबरको रकम बाहिरिएको छ । यस अवधिमा बिस्कुटजस्ता खानेकुराको आयातमासमेत अर्बौं रकम विदेशिने गरेको देखिन्छ । चालु आवको जेठ मसान्तसम्म एक अर्ब ३७ लाखभन्दा बढीका बिस्कुट आयात भएको छ ।

 

त्यस्तै पापड १९ करोड ९४ लाख, मकैको खानेकुरा (कर्नफ्लेक्स) १८ करोड ४९ लाखमा आयात भएको विवरण छ । अनावश्यक ठानिएका यस्ता सामग्रीको आयातमा कडाइ गर्नुपर्ने माग पनि नउठेको होइन । तर सरकारी निकायले त्यसतर्फ ध्यान दिन सकेको छैन । अर्थमन्त्री जनार्दन शर्माले देशभित्रै उत्पादन हुने बिस्कुटको प्रयोग सरकारी निकायमा अनिवार्यरुपमा गर्न यसअघि नै प्रक्रिया अगाडि बढाइसकिएको बताएका छन् ।