☰ open Loading... 18 November 2024|  

आयातित खाद्यान्नले कुपोषणको समस्या
  | १९ असार २०७९, आईतवार ०५:१७

आयातित खाद्यान्नले कुपोषणको समस्या 

यामराज बिष्ट दैलेख, । दैलेखमा स्थानीय रैथाने बालीको संरक्षण र प्रवद्र्धन नहुँदा कुपोषणको समस्या देखा पर्न थालेको छ । स्वास्थ्य सेवा कार्यालय, दैलेखले नौमुले गाउँपालिकामा आयोजना गरेको ‘स्थानीय रैथाने पोषक खाद्य वस्तुको प्रवद्र्धन सम्बन्धी’ अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले रैथाने बाली लोपोन्मुख हुँदा आयातित खाद्यान्नको परनिर्भरताले कुपोषण हुनेको संख्या बढ्दो क्रममा रहेको बताएका छन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष छवि सुवेदीले गाउँघरमै पाइने खाद्यवस्तुको सही प्रयोगबाट पोषणको स्थिति सुधार गर्न सकिने बताए । कुपोषणका बारेमा आम नागरिकलाई जानकारी नहुँदा अभिभावककै लापरबाहीले धेरै बालबालिकालाई कुपोषण हुने गरेको उनको भनाइ थियो ।

 

यस्तै स्वास्थ्य कार्यालय दैलेखका नन्दराम रेग्मीले सन्तुलित खानेकुराको अभावमा ५ वर्षमुनिका बालबालिकामा अधिक पोषण, न्यून पोषण, मोटोपन, पुड्केपन, ख्याउटे, कमतौल र सुकेनाशजस्ता समस्या देखिएको बताए । उनका अनुसार पोषिलो खानाको अभावमा कर्णालीमा कुपोषणको समस्या धेरै रहेको छ ।

कार्यक्रममा खाना र पोषण, हरबार खाना चार, महिलाहरुको लागि न्यूनतम खाद्य विविधता, किशोरी, गर्भवती र सुत्केरीका लागि पोषण, सुनौलो हजार दिन तथा स्तनपान, प्रजनन स्वास्थ्य, खानेपानी सरसफाइ, पोषण, बगैंचा, स्थानीय बाली, वस्तु र पोषिलो परिकार, जंक फुड लगायतका विषयमा जानकारी गराएको थियो ।

 

जिल्लामा पाइने कोदो, फापर, जौ, मकै, उवा, फापर, जुनेलो, चिनो, कागुनो, लट्टे, बेथे, मास, मस्याङ्ग, सिमी, बोडी, मिर्के सिमी, घैया धान, साना दाना लगायतका रैथाने बाली पछिल्लो समय उत्पादन घट्दो क्रममा रहेको छ । कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, पत्रकारलगायतको सहभागिता रहेको थियो