☰ open Loading... 18 November 2024|  

पञ्चदेवल विनायककी मेयर अम्बिका चलाउने पक्राउ
  | २० असार २०७९, सोमबार ०५:१७

काठमाडौंः अछामको पञ्चदेवल विनायक नगरपालिकाकी अध्यक्ष अम्बिका चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्युबारे अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले घटनाको अनुसन्धानका लागि चलाउने र अर्का एक जनालाई शनिबार पक्राउ गरेको जानकारी दिए । यो सँगै शाही मृत्युको अनुसन्धानका लागि पक्राउ पर्नेको संख्या ७ पुगेको छ । पीडित पक्षले हत्या गरेको आरोप लगाउँदै मेयर चलाउने सहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।

 

३० वैशाखको स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

 

पछि कांग्रेस कार्यकर्ताले जाहेरी दिएका व्यक्तिहरुलाई १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।