☰ open Loading... 22 December 2024|  

‘महाबुलाई पर्यटकीय क्षेत्रको रूपमा चिनाउने योजना छ’
  | २७ असार २०७९, सोमबार ०५:१६

 

महाबु गाँउपालिका, दैलेखकी उपाध्यक्ष मञ्जु कुमारी पाण्डे जनतालाई सेवा प्रवाह गर्न लागि आफु लागि पर्ने बताउँछिन् । जनताको जीवनस्तर सुधार्नको लागि जस्तोसुकै चुनौतीको सामना गरेर भएपनि काम गर्न आफु तयार भएको बताउने उपाध्यक्ष पाण्डे जनताको जीवनस्तर परिवर्तन र महाबु गाँउपालिकालाई समृद्ध बनाउन लागि पर्ने उनको प्रतिबद्धता छ । निर्वाचित भईसकेपछि गाउँपालिकाको विकास योजनाहरूका बारेमा, आगामी पाँच वर्षे कार्यकालको सम्भावित रणनीति आदिका बारेमा पाण्डेसँग पश्चिम नेपालकर्मि यामराज बिष्टले गरेको कुराकानीका सम्पादित अंश :

 

तपाईँ निर्वाचित भईसकेपछि पालिकाको विकासका लागि कुन क्षेत्रलाई बढी प्राथमिकता दिने योजनामा हुनुहुन्छ ? 

 

जनताले जनप्रतिनिधिका रूपमा विभिन्न जाति, समुदाय र समाजका समस्या समाधानका लागि आशा गरेर जिताउनु भयो । भोट दिनुभयो । स्थानीय तहमा स्थानीय सरकारमार्फत विकास हुनेमा विश्वास लिनुभयो । महाबु गाउँपालिकाको आवश्यता त सबै छ तर कृषि, यातायात र स्वास्थ्यमा बढि जोड दिने सोचमा छु ।

 

गाउँपालिकामा आउने सेवाग्राहीले भनेजस्तो सेवा भएन भन्ने गुनासो छ, काम छिटो छरितो भएन भन्ने छ । यसलाई तपाईं कसरी लिनुहुन्छ ? 

 

सेवाग्राहीले कस्तो काम लिन आउनु भएको छ त्यसमा भर पर्छ । सेवाग्राही आफैमा कागजात नलिई अपुरा काम लिएर आउने गरेको पाइन्छ । फेरि यो समय भनेको धेरै सेवाग्राहीलाई सेवा दिनुपर्ने भएकोले अलि समय लाग्न सक्छ तर, हैरानी हुनुपर्ने खासै कारण देखिँदैन ।

 

सेवाग्राहीले काम गरेअनुसार भूक्तानी भएन भन्ने गुनासो छ नि यसमा के भन्नुहुन्छ ?

 

त्यस्तो कुरा आएको छैन । काम गरेकोे सबै उपभोक्ताले सहजै भूक्तानी लिनुभएको छ । कुनै योजना अनुगमन नभएको खण्डमा हेरेर मात्रै भुक्तानी दिने गरिएको छ । सम्पन्न नभएको योजनाको हकमा छिटो काम गर्नलाई समितिलाई खबरदारी भएको छ ।

 

आगामी दिनमा महाबु गाउँपालिकालाई विकास, यातायात, कृषि क्षेत्रमा समृद्ध र आत्मनिर्भर बनाउन के–के योजना बनाउनु भएको छ ? 

 

म सधैँ जनताको हक, हितको लागि राजनीतिमा लागेको र जीवनभरी जनताको सेवा गर्न पछि नहटने व्यक्ति हूँ । महाबु गाउँपालिकाका छ वटै वडाहरुमा सहजरूपमा सवारी साधन पुर्‍याउने लक्ष्य रहेको छ । युवाहरुलाई पशुपालन र कृषिमा जोड दिएर व्यवसायी बनाउने, सफा खानेपानीको पहुँच पु¥याउने र सबै वडाहरुमा बिजुलीबत्ती लाइन विस्तार गर्ने र पर्यटकीय क्षेत्रको रूपमा चिनाउने योजना बनाएकी छु । विकासको लागि आफु हर सम्भव लागि परेको र यस कार्यमा महाबुबासीहरुलाई पनि साथ दिन आग्रह गर्छु । समृद्धि निर्माण गर्नका लागि नागरिक समृद्ध बन्नु पर्दो रहेछ । त्यसका लागि शिक्षा, कृषि र स्वास्थ्य अनिवार्य छ । हामी यी कुराहरूमा विशेष प्राथमिकता दिएर लागेका छौं । स्वास्थ्य, शिक्षा र कृषिको क्षेत्रमा पर्याप्त बजेट दिने लक्ष्य छ ।

 

अहिले र पाँच वर्ष पछिको महाबुबीच गाउँबासीले कस्तो फरक महसुस गर्न पाउलान् त ? ? 

 

महाबु गाउँपालिका धेरै सम्भावना बोकेको ठाउँ हो । हामीले प्रयोग गर्न सकेको छैनौं जस्तो लाग्छ । अबको पाँच वर्ष पछि पर्यटकीय महाबुलाई स्वच्छ, सुरक्षित, हरियो, आत्मनिर्भर र समृद्ध भएको देख्न पाइन्छ । गाउँपालिकाकाले जसको लागि विशेष गुरूयोजना बनाएरै काम गर्दैछ ।

 

अन्त्यमा केही भन्नु छ ? 

 

तपाईंको मिडियामार्फत समृद्ध र सुन्दर गाउँपालिका बनाउनका लागि सबैको सहयोग रहोस् भन्ने अपिल गर्न चाहन्छु । काम गर्दा समय लाग्छ, त्यसैले सबले धैर्य गरेर विकासको ढोका पर्खन आग्रह गर्दछु । गाउँपालिकाको विकासको लागि म रातदिन लागि परेको छु ।