सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेत नेतृत्वको बजार अनुगमन टोलीले अवैध रुपमा भित्र्याइएको मंगुर माछा जफत गरेको छ ।
प्रशासन कार्यालयलाई अवैध रूपले भित्र्याइएको प्रतिबन्धित मंगुर माछाको बिक्री वितरण भइरहेको सूचना पाए लगतै बजार अनुगमन टोलीले स्थानीय हटिया लाइन चोक र मंगलगढी चोकबाट २ सय १० किलोग्राम माछा नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
अनुगमन टोलीले हटिया लाइनस्थित बिरु माछा पसलबाट ८० किलो, सञ्जीव माछा पसलबाट ८० किलो र रोशन माछा पसलबाट ५० किलो माछा जफत गरी मङ्गलवार राती नै वीरेन्द्रनगर नगरपालिका अगाडि रहेको कुइनेपानी जङ्गलमा गाडेर नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यबहादुर थापाले बताए।
सर्वसाधारणको गुनासो र सूचनाका आधारमा प्रहरीसहितको अनुगमन टोलीले वीरेन्द्रनगर बजारका केही माछा पसलहरूमा खानतलासी गर्दा प्रतिबन्धित मंगुर माछा पाइएले ती माछा जफत गरी नष्ट गरी व्यवसायीलाई फेरी विक्री वितरण गरेको पाइए कानून अनुसार कारबाही हुने चेतावनी दिएर छोडिएको जानकारी दिए ।