कालीकोट — कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकखण्डअन्तर्गत कालीकोटको सिम्लागाडमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
मान्मबाट नाग्मतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाइस खाडाचक्र-६ सिम्लागाडको मोडमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डीएसपी सिद्धराज न्यौपानेका अनुसार मृत्यु हुनेमा पचालझरना-५ बाझकोटका २० वर्षीय तुफान बम छन् । उनी गाडीका सहचालक हुन् । घाइतेहरु सबैजसो खाडाचक्र र महाबैका स्थानीय हुन् । घाइतेमध्ये खाडाचक्र-४ का २० वर्षीय दीपेन्द्र विक र महाबै-७ राम्नीकी २४ वर्षीया दर्शना सुनारको अवस्था जटिल रहेको जिल्ला अस्पताल प्रमुख डा. रत्नवीर सुनारले बताए ।
उनका अनुसार अन्य घाइतेको अवस्था सामान्य छ । अन्य घाइतेमा खाडाचक्र ८ की २० वर्षीया स्वस्तिका परियार र उनकी १ वर्षीया छोरी संस्कृति, महाबैकी दर्शनाकी १ वर्षीया छोरी युनिका, खाडाचक्र-८ का ३२ वर्षीय जनक परियार, २७ वर्षीया निर्मला परियार, सोही वडाका ७० वर्षीय बिस्नलाल चौलागाईं, २४ वर्षीय हस्त मल्ल, महाबै-७ की ५० वर्षीया रत्नकौरा सुनार छन् । घाइतेको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ ।
साँघुरो मोडमा धेरै स्पिडमा चलाएकाले गाडी अनियन्त्रित भई पल्टिएको प्रहरीको अनुमान छ । गाडी पल्टिएपछि चालक भागेको घाइते हस्त मल्लले जानकारी दिए ।