☰ open Loading... 23 December 2024|  

बाढीले काठेपुल पुल बगाउँदा आवतजावत ठप्प
  | १० श्रावण २०७९, मंगलवार ०५:२१

डोल्पा । लगातारको बर्षासँगै आएको बाढीले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-९ मा पर्ने चुँ गाड खोलाको काठेपुल बगाएको छ ।

दैनिक स्थानीयले प्रयोग गर्ने पुल खोलाले बगाएपछि मानिस तथा सवारी आवतजावत ठप्प भएको छ । खोलामा पुल नभएपछि नगरपालिको वडा नं ९,१० र ११ का सर्वसाधारण नगरपालिकाको केन्द्र तथा सदरमुकाम दुनैसम्म आवतजावत गर्न सकेका छैनन् ।

औषधि उपचार, बैंकिङ सेवा, किनमेल लगायतका कामका लागि त्रिपुरोकाट बजार आउने सर्वसाधारण पनि रोकिएको स्थानीय रणबहादुर बुढाले जानकारी दिएका छन् । खोलामा पुल नबनेसम्म सर्वसाधारण काम परे पनि सहज आवतजावत गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ । त्यस्तै बाढीकै कारण जाजरकोट-डोल्पा सडकखण्ड अन्तर्गत पर्ने तल्लो चुँ गाडमा सवारीसाधन आवतजावत गर्नका लागि बनाइएको खोलाको तटबन्ध समेत भासिएको छ ।

मुख्य सडकमै पर्ने तटबन्ध भासिएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरु बाटोमै रोकिएका छन् । मालवाहक ट्रक, ट्याक्टर आउन नसकेपछि सदरमुकाम दुनै त्रिपुराकोट, जुफाललगायतका बजारहरुमा दैनिक उपभोग्य सामाग्री ढुवानी हुन सकेको छैन । यथाशिघ्र पुल सञ्चालन नभए बजारमा दैनिक उपभोग्य सामाग्री समेत महंगिने स्थानीय व्यापारीको भनाई छ ।