सुर्खेत: जाजरकोटको बारेकोट गाउँपालिकाका लिम्साघाट, लिम्सा र छेडा सडक खण्ड वर्षायाम लागेपछि अवरुद्ध छन् । पालिकाको केन्द्र र वडाहरू जोड्ने सडकमा ठाउँ–ठाउँमा पहिरो खसेको छ । वडा कार्यालयहरूमा पुग्ने सबैजसो सडक ठप्प छन् । स्थानीय सरकारको अघिल्लो कार्यकालमा यहाँका गाउँ–गाउँमा सडक निर्माण गरिएका थिए । प्राविधिकविनै हचुवामा खनिएका सडकमा जहाँतही पहिरो गएको छ । सडकहरू प्रयोगविहीन छन् । गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरी भन्छन्, ‘अहिले गाउँपालिकाको केन्द्रसम्म मात्रै मुस्किलले सवारी साधन आइपुग्छन् ।’ नयाँ खनेका सडकमा वर्षाले माटो बगाएपछि सडक कि खोला चिन्नै नसकिने अवस्था रहेको उनले बताए । बारेकोट गाउँपालिकाका नौ वडामध्ये चार वटा पहिरोको उच्च जोखिममा छन् ।
दैलेखको दुुल्लू नगरपालिकाका प्रत्येक वडामा सडक पुुगेको छ । ती सडकमा केही महिना मात्रै गाडि चल्छन् । ट्रयाक खुलेदेखि स्तरोन्नति नभएका सडक बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य हुन्छन् । यहाँका ग्रामीण सडक हरेक वर्ष बर्खाको समयमा बारम्बार अवरुद्ध भइरहन्छन् । अघिल्लो कार्यकालका जनप्रतिनिधिबीच वडामा कसले पहिले सडक पु¥याउने भन्ने प्रतिस्पर्धा चल्यो । वातावरणीय प्रभाव मूल्यांकन र प्राविधिक स्टमेटविना धमाधम सडक खनिए । दूल्लु नगरपालिकाका एक जना पूर्व वडाअध्यक्ष भन्छन्, ‘कोही वडा अध्यक्षले आफ्नै मेसिन ‐स्काभेटर)ले सडक खने, केहीले भाडामा ल्याएर चालकको भरमा गाउँ–गाउँसम्म सडक पु¥याए । उनका अनुसार त्यसरी निर्माण गरिएका धेरै सडक अहिले सञ्चालनमा छैनन् । अधिकांश सडक जीर्ण हुँदा सवारी साधन गुड्ने अवस्था नभएको हो ।
कालीकोटको नरहरीनाथ गाउँपालिकामा नयाँ निर्माण गरिएका सडक खण्डहरू अवरुद्ध छन् । जथाभावि सडक खन्दा आसपासका बस्तीहरूमा पहिरोको उच्च जोखिम छ । त्यहाँका सबैजसो सडकमा पहिरो जाने गरेको हो । नयाँ निर्माण गरिएका सडकका कारण पालिकाका तीन वटा बस्ती पहिरोको जोखिममा परेका छन् । गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाहीका अनुसार हचुवामा निर्माण गरिएका सडकले पहिरोको जोखिम झनै बढेको छ । प्राविधिक पक्षको ख्यालै नगरी सडक निर्माण गर्दा वडा नम्बर २, ३ र ७ मा पहिरोको जोखिम बढेको उनले जनाए । ‘हाम्रो पालिका त्यसैपनि पहिरोको अधिक जोखिममा थियो,’ शाहीले भने, ‘अहिले जथाभावि सडकका ट्रयाक खोलिएपछि झनै विपत्तिको खतरा बढ्यो ।’
रुकुम–पश्चिको आठबिसकोट नगरपालिकामा केही दिन पहिले सडक खन्ने क्रममा निस्किएको मोटो र ढुङ्गा बगेर पहिरोको रूप लिएको छ । त्यहाँका दुई वटा सडक निर्माण गर्दा पहिरो गएपछि बस्ती नै विस्थापित भएको छ । घरमाथि पहिरो खस्न थालेपछि ३९ घरपरिवार छिमेकी गाउँमा सरेका छन् । पालिकाको वडा नं. ७ स्थित नयाँ सडक खन्दा राडिज्युला, गारा र सिम्तारा बस्तीको सिँचाइ नहर भत्किएसँगै गाउँमाथिबाट पहिरो झरेको हो ।
यी केही प्रतिनिधिमूलक ग्रामीण सडकका उदाहरण हुन् । कर्णाली प्रदेशका बस्ती–बस्तीमा सडक लैजाने होडबाजीका कारण सुविधाभन्दा धेरै विपद् निम्तने गरेको छ । विकास ओसार्ने मुख्य आधार सडक निर्माणमा सबै पालिकाले जोड दिएपनि त्यसको गुणस्तर र स्तरोन्नतिमा भने ध्यान दिने गरेका छैनन् । यसले गर्दा बाढी–पहिरो र सडक दुर्घटनाको जोखिम बढ्दो छ । हचुवामा सडक निर्माण गर्ने प्रवृत्तिका कारण बर्सेनि ठूलो जनधनको क्षतिसमेत हुने गरेको छ । विकासको नाउमा जताततै सडक बनाउने विकृतिले विपत्तिको जोखिम बढेको सडक पूर्वाधार क्षेत्रका जानकारहरू बताउँछन् । लामो समयदेखि सडक पूर्वाधारका क्षेत्रमा काम गर्दै आएका इन्जिनियर दिलिप आचार्यले स्थानीय सरकार गठन भएयता गाउँमा सडक पु¥याउने होडबाजी चलेको बताए । उनका अनुसार त्यसरी निर्माण गरिएका धेरैजसो सडकको प्राविधिक पक्षलाई बेवास्ता गरिएको छ ।
संघीय र प्रदेश सरकारजस्तै पालिकाहरूको प्राथमिकतामा पनि सडक पूर्वाधार पर्ने गरेको छ । बजेटको ठूलो हिस्सा सडक निर्माणमा खर्च गरिएपनि त्यसले सुविधाभन्दा बढी सास्ती हुने गरेको छ । मेसिन ‐स्काभेटर) प्रयोग गरी अन्धाधुन्ध खनिएका ग्रामीण क्षेत्रका सडकले बाढी पहिरोजस्ता विपद्समेत निम्त्याइरहेका छन् । इन्जिनियर आचार्य भन्छन्, ‘त्यसैले गावैपिच्छे सडक र सडकैपिच्छे पहिरो देखिने गरेको हो ।’
विगतको अनुभवबाट सिकेर यसपटक नयाँ सडक निर्माणलाई भन्दा पुराना सडकको मर्मत तथा स्तरोन्नतिमा बजेट केन्द्रित गरिएको बारेकोट गाउँपालिकाका अध्यक्ष गिरीले बताए । उनी भने, ‘गाउँपालिका नै पहिरोको जोखिममा छ, सडक निर्माणमा ख्याल नगरिए थप जोखिम रहन्छ । यसतर्फ हामी सचेत भएर लागेका छौँ ।’ कर्णालीका अधिकांश स्थानीय तहका ग्रामीण सडक प्रयोगमा छैनन् । स्थानीय सरकारले पहिलो प्राथमिकतामा राखेर स्काभेटरले खनेका सडक पहिरो खस्न थालेपछि प्रयोगविहीन भएका हुन् । प्राविधिकको सल्लाह नै नलिएर खनिका सडक थुप्रै छन् । ती सडकमा सानो पानी पर्दा पनि ठूलो पहिरो आउने, सडक चिरा पर्ने र बाढीको जोखिम बढ्ने गरेको छ । डोजरले खनेका सडकमा पहिरोको बढी जोखिम हुने गरेको स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन् ।
प्रदेशका १० वटै जिल्ला पहाडी र हिमाली भू–भागमा अवस्थित छन् । भौगोलिक अवस्थाका कारण पनि प्रदेशभर पहिरोजस्ता प्राकृतिक विपद्को खतरा छ । यहाँको अधिकांश जमिन भिरालो हुँदा बर्खामा होस् वा खडेरीमा पहिरो गइरहन्छ । स्थानीय तहले प्राविधिक मापदण्डविपरीत भिरालो जमिनमा निर्माण गरेका सडकहरूमा पहिरो जाने हुँदा अवरुद्ध भइरहन्छन् । छरिएर रहेका बस्तीमा मनपरी सडक बनाइँदा पहिरोको जोखिम उच्च हुने गरेको प्राविधिकहरूले बताएका छन् । स्थानीय तहहरूले सडक गुरुयोजना तयार गरेर काम गर्नुपर्ने दैलेखको नारायण नगरपालिकाका इन्जिनियर पूर्णप्रसाद कोइरालाले बताए । ‘वातावरणीय प्रभाव परीक्षण, सम्भाव्यता अध्ययन नगरी सडक निर्माण गर्दा समस्या आउने गरेको देखिएको छ,’ उनले भने । सडक पूर्वाधार निर्माणमा हेलचक्य्राइँ गर्दा पछिल्ला वर्षहरूमा थप जोखिम बढेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार गत वर्ष पहिरोमा परेर कर्णालीमा ६८ जनाको ज्यान गएको थियो । यसपालि यो अवधिसम्म पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी हिराबहादुुर पाण्डेका अनुसार यसपटकको वर्षायाम सुरु भएपछि बाढी र पहिरोमा परी दुुई जना बेपत्ता भएका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा बाढी–पहिरोमा परेर प्रदेशभर ८५ जनाले ज्यान गुुमाएको प्रहरी तथ्यांक छ ।साझा बिसौनीबाट