सुर्खेत — राष्ट्रिय परिक्षा बोर्डले पहिलो पटक प्रदेशगत रूपमा सार्वजनिक गरेको एसईई (माध्यमिक शिक्षा परीक्षा) नतिजामा कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको छ । कर्णालीका १ सय १४ जना परीक्षार्थीले मात्र ३.६ देखि ४ जीपीए अर्थात् उच्च अंक ल्याएका छन् । बोर्डको तथ्यांकअनुसार प्रदेशगतरुपमा उच्च अंक ल्याउने वाग्मती प्रदेशका परीक्षार्थी छन् ।
कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालय सुर्खेतकी निर्देशक दीपा हमालले कर्णालीका विद्यालयमा समयमा पाठ्यपुस्तक नपुग्दा सोचेजस्तो नतिजा नआएको बताइन् । कर्णालीमा दरबन्दीअनुसार शिक्षक नहुनु र विषयगत शिक्षक अभावले पनि यस्तो नतिजा आएको उनको भनाई छ । ‘कोरोना महामारीका कारण अघिल्ला दुई शैक्षिक सत्रमा लिखित परीक्षा नभएपछि विद्यार्थीमा मनोवैज्ञानिक असर परेकाले यस्तो नतिजा आयो,’ उनले भनिन् ।
यस पटक एसईईमा कर्णाली प्रदेशबाट ३७ हजार ३६२ परीक्षार्थी सहभागी थिए । तीमध्ये ९५१ जनाले ३.२ देखि ३.६ जीपीए ल्याएका छन् । वीरेन्द्रनगर नगरपालिकाका शिक्षा उपसचिव धीरेन्द्रप्रसाद लम्सालले ३ वर्षयता लगातार कोभिडको प्रभाव विद्यार्थीमा परेको बताए । ७, ८, ९ कक्षामा पढ्ने बेलामा कोरोनाको असर विद्यार्थीहरूमा परेको र परीक्षा प्रणाली फितलो भएकाले ग्रेडिङ प्रणालीले विद्यार्थीहरूमा पढ्नुपर्छ भन्ने भावना कमजोर भएको उनको भनाइ छ ।
कर्णालीका चार हजार ३५ जना परीक्षार्थीले २.८ देखि ३.२ जीपीए, आठ हजार ३ सय ८३ जनाले २.४ देखि २.८ जीपीए, १० हजार ७३ जनाले २.० देखि २.४ जीपीए, सात हजार ७ सय ७६ जनाले १.६ देखि २.० जीपीए, दुई हजार ९ सय ९४ जनाले १.२ देखि १.६ जीपीए, १ सय ७५ जनाले ०.८ देखि १.२ जीपीए ल्याएका छन् ।कान्तिपुरबाट