जुम्ला,। कर्णाली प्रदेशको जुम्ला विमानस्थलमा नयाँ टर्मिनल भवन बनाउनको लागि १ करोड बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा नेपालका १८ विमानस्थलको टर्मिनल भवन विस्तार तथा स्तरोन्नती गरिने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
जस अन्तर्गत चालु आर्थिक वर्षमानै जुम्ला विमानस्थलमा सुविधायूक्त टर्मिनल भवन निर्माण गर्नको लागि १ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेत पछिको दोस्रो ठुलो शहरका रुपमासमेत परिचित जुम्ला विमानस्थलमा यात्रुको चाप अत्याधिक हुने गरेको छ । यद्यपि सेडुल अनुसार उडान नहुँदा यात्रुले सास्ती खेप्नु परेको छ ।
विमानस्थल स्तरवृद्धिका तथा विस्तार नहुँदा यात्रुको चाप अनुसार ठुला जहाज जुम्ला ल्याउन नसक्दा समस्या भएको जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले जानकारी दिए । उनका अनुसार जुम्ला विमानस्थल स्तरवृद्धीको पहल विगतदेखि भएको बताए । हालको टर्मिनल भवन निकै पुरानो भइसकेको उनको भनाइ छ । चालु आर्थिक वर्षमा प्राधिकरणले सुविधायूक्त टर्मिनल भवन बनाउनको लागि १ करोड रुपैयाँ बजेट गरिएको उनले बताए ।
कार्यालय प्रमुख अधिकारीले विमानस्थलमा टर्मिनल भवन निर्माण पश्चात कर्णालीको पर्यटन प्रर्वद्धनमा उल्लेखनीय वृद्धी हुने बताए ।विमानस्थलको टर्मिनल भवन निर्माण भएमा डोल्पा, हुम्ला, मानसरोवर तथा मुगुको राराताल आउने जाने स्वदेशी तथा विदेशी पर्यटक अनिवार्य जुम्ला पुग्ने कार्यालय प्रमुख अधिकारीले विश्वास व्यक्त गरे ।