सुर्खेत: कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण पुनः बढेको छ । साउनयता कर्णाली प्रदेशमा पनि संक्रमणदर दैनिक बढ्दो क्रममा देखिएको हो । कर्णालीमा केही महिना सेलाएको संक्रमणदर अहिले दैनिक ५० प्रतिशत हाराहारी पुगेको छ । आइतवार आठ जनाको परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएकामध्ये ५० प्रतिशतमा कोरोना संक्रमण फेला पर्ने गरेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । संक्रमणदर तीव्र बनिरहँदा सोहीअनुसारको नियन्त्रण तथा उपचारका उपायहरू भने अवलम्बन गरिएका छैनन् । जनशक्तिको अभावमा परीक्षणको दायरा बढाउनेदेखि उपचार सेवासमेत प्रभावित बनेको निर्देशनालयले जनाएको छ । ‘पछिल्ला दिनमा संक्रमणदर दैनिक उकालो लागेको छ,’ निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्का भन्छन्, ‘नियन्त्रण तथा व्यवस्थापनका लागि हामीसँग पर्याप्त जनशक्ति भने छैनन् ।’ डोल्पा, मुगु र हुम्लामा विशेषज्ञ चिकित्सक छैनन् भने नर्सिङ तथा पारामेडिक्सहरूको प्रदेशभर नै अभाव छ । कोभिड नियन्त्रणका लागि करार सेवामा स्वास्थ्यकर्मी राख्नका लागि बजेट व्यवस्थापन नहुँदा काम गर्न असहज भइरहेको निर्देशनालयले जनाएको छ ।
कर्णालीले हाल भौतिक पूर्वाधार र स्वास्थ्य उपकरणभन्दा बढी समस्या दक्ष तथा विशेषज्ञ जनशक्तिको झेल्दै आएको छ । दरबन्दीअनुसार जनशक्ति नभएपछि कोरोना महाहारीसँग जुध्न कठिनाइ भएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको विवरणअनुसार प्रदेशभर आठ सय ८७ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा हाल करिब तीन सय जनाको मात्रै पदपूर्ति भएको छ । एक सय ६३ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा २७ जना कार्यरत छन् । करारसहित गरी ९४ जना विशेषज्ञ चिकित्सक कार्यरत रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार अहिले देखिएको संक्रमण कोरोनाको चौथो लहर हो । यो लहरमा जटिल प्रकृतिका बिरामी कमै भएपनि संक्रमण भने तीव्र रूपमा फैलिरहेको छ । बढ्दो संक्रमणदरलाई नियन्त्रण गर्न परीक्षणको दायरा बढाइएको छैन । आवश्यक पूर्वाधार र दक्ष जनशक्तिको कमीका कारण परीक्षण ल्याबहरू सञ्चालनमा आउन नसकेका हुन् ।
कोरोना परीक्षणका लागि पीसीआर प्रयोगशाला सञ्चालनमा दक्ष जनशक्तिको आवश्यकता पर्छ । त्यस्तो जनशक्ति निकै न्यून रहेको जनाइएको छ । हाल प्रदेशभर सुर्खेतमा मात्रै पीसीआर परीक्षणको व्यवस्था छ । वीरेन्द्रनगरमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने गरिएको निमित्त निर्देशक खड्काले बताए । अन्य ठाउँमा रहेका प्रयोगशालाहरू अहिले सञ्चालनमा छैनन् । खड्काका अनुसार प्रयोगशाला सञ्चालनका लागि जनशक्तिको अभाव देखिएको छ । परीक्षणको दायरा साँघुरो हुँदा अन्य जिल्लाबाट पीसीआर गर्न सुर्खेत आउनुको विकल्प छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, स्वास्थ्य कार्यालय दैलेख र रूकुम–पश्चिमको सामुदायिक अस्पतालका प्रयोगशाला लामो समयदेखि बन्द छन् । गत वर्ष कोरोनाको तेस्रो लहरसम्म कर्णालीका चार वटै स्थानबाट पीसीआर परीक्षणको व्यवस्था मिलाइएको थियो ।
कोरोना परीक्षणको अर्को विधि एन्टिजेनको भने कर्णालीका १० वटै जिल्लामा सुविधा रहेको निर्देशनालयले जनाएको छ । एन्टिजेन परीक्षण प्रदेशका सबै जिल्ला, पालिका र समुदायस्तरमा भइरहेको निर्देशनालयको दाबी छ । निर्देशनालयले एन्टिजेन परीक्षण सेवा सुरु गर्न जिल्लास्थित स्वास्थ्य कार्यालयमार्फत सबै पालिकालाई पत्राचारसमेत गरिसकेको जनाएको छ । संक्रमणका आशंकितहरूले एन्टिजेनभन्दा पीसीआर परीक्षणमा नै जोड दिने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
संक्रमण दर बढ्दो क्रममा देखिए पनि प्रतिकार्य व्यवस्थापनमा प्रभावकारी काम हुन नसकेको निमित्त निर्देशक खड्का बताउँछन् । दरबन्दीअनुसार पर्याप्त तालिमप्राप्त जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको उनले बताए । ‘जनशक्तिको अभावमा आइसीयू, एचडीयू र भेन्टिलेटर सेवा सञ्चालनमा चुनौती छ,’ उनले भने । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार उपचार तथा सिकिस्त बिरामीको उद्धारका लागि आवश्यक स्रोत–साधनको समेत अभाव छ । एम्बुलेन्स तथा शव वाहनको उचित प्रबन्ध हुन नसकेको निर्देशनालयले जनाएको छ । अनियमित विधुतका कारणसमेत स्वास्थ्य उपकरणहरू सञ्चालनमा कठिनाइ हुने गरेको छ । अस्पतालहरूमा वैकल्पिक उर्जाको भरपर्दो व्यवस्थापन छैन । जुम्लामा कोल्ड चेन रूमको स्थापना गर्नुपर्ने आवश्यकता देखिएता पनि सञ्चालनमा आउन सकेको छैन । कर्णालीमा अहिले ‘कोभिड हव’ अस्पताल दुई स्थानबाट सञ्चालन भइरहेको निर्देशनालयले जनाएको छ । प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना संक्रमितको उपचार गर्ने गरिएको हो ।
असारसम्म स्थिर रहेको संक्रमणदर साउन लागेयता ह्वातै बढेको निर्देशनालयको विवरणले देखाएको छ । साउनका तीन सातामा झन्डै एक सय जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण दर न्यून हुँदा पनि पछिल्लो समय संक्रमणदर बढेपछि नियन्त्रणमा चुनौती देखिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयले अहिले ज्वरो, खोकी तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका शंकास्पद बिरामीको कोभिड परीक्षणका लागि प्रदेश भित्रने सीमा नाकाहरूमा कडाइ गरेको जनाएको छ । सुर्खेतको छिन्चु, सल्यानको कपुरकोट र कुइनेमा होल्डिङ तथा स्क्रिनिङ सेन्टर सञ्चालन गरिएको छ ।साझा बिसौनी ।