☰ open Loading... 19 November 2024|  

२७ बालबालिकाकी ‘आमा’ जयन्ती
  | २९ श्रावण २०७९, आईतवार ०५:५३

जाजरकोटकी प्रतिभा परियार ११ वर्षकी हुँदा २०७१ सालमा बुवाको मृत्यु भयो। चार छोराछोरीकी आमा पनि अर्को वर्ष विवाह गरेर गइन्। घरकी जेठी छोरी प्रतिभाको कलिलो काँधमा दुई भाइ र एक बहिनीको लालनपालनको जिम्मेवारी आइलाग्यो। पाँच कक्षामै प्रतिभाको पढाइ रोकिने अवस्था आयो।

बुवाको मृत्युपछि आमाले अर्को विवाह गरेर जाँदा प्रतिभासहित चार बालबालिकाको बिचल्ली भएको खबर अमेरिकामा रहेकी जयन्ती थापाले पाइन्। जयन्तीले उनीहरूको पढाइ खर्च मात्रै होइन, पालनपोषणको पनि जिम्मेवारी लिइन्। प्रतिभा अहिले १२ कक्षाको परीक्षा दिएर बसेकी छन्। भाइ जय कक्षा ९ मा अध्ययनरत छन्। बहिनी पुष्पा कक्षा ८ मा र कान्छो भाइ सन्तोष कक्षा ६ मा पढिरहेका छन्।

‘बुवा नबितेका भए पनि घरको आर्थिक अवस्थाका कारण हामीले यसरी पढ्न पाउने वातावरण हुन्थेन होला,’ प्रतिभाले भनिन्, ‘कोही नहुनेका लागि भगवान्ले हेर्छन् भन्थे, जयन्ती हाम्रो जीवनमा भगवान् बनेर आइदिनुभयो।’ परियार परिवारको जाजरकोटको छेडागाडमा खरको घर भए पनि उब्जाउन खेतबारी छैन। जयन्तीको सहयोग नभइदिएको भए अहिले प्रतिभा र उनका भाइबहिनीले मजदुरी गरेर दैनिकी चलाउनुपर्ने बाध्यता रहन्थ्यो। ‘हामीले खाने, लगाउने र स्कुलको सबै खर्च अमेरिकाबाट जयन्ती आमाले पठाइदिनुहुन्छ,’ प्रतिभाले भनिन्, ‘हामीले ढुक्कसँग पढ्न पाएका छौं।’

रुकुम पश्चिमकी कमला विश्वकर्मा पाँच वर्षकी हुँदा उनकी आमाको मृत्यु भयो। बुवा बले नेपाली सुस्त मनस्थितिका छन्। आमाको मृत्युसँगै कमलाको पढाइ रोकिने अवस्था आयो। यो खबर पाएपछि जयन्तीले कमलासहित ६ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरिन्। कमलाले भर्खरै एसइई उत्तीर्ण गरेकी छन्। ‘अब सिएमए पढेर गाउँमै सेवा गर्छु, एसइई उत्तीर्ण भएपछि उनले भनिन्,’ आमाको मृत्युसँगै पढ्ने आशा मरिसकेको थियो, जयन्ती आमाको अर्को रूप बनेर आइदिनुभयो।’

जयन्तीले अहिले कर्णालीका विभिन्न जिल्लाका २७ बालबालिकाको अभिभावकत्व ग्रहण गरेकी छन्। आमाबुवा गुमाएका, आमाबुवा भएर पनि आर्थिक अवस्था कमजोर भएका, पढ्ने चाहना भएका तर वातावरण नभएका ती बालबालिकाको उच्च शिक्षासम्मको दायित्व उनले बहन गर्दै आएकी छन्। जयन्ती रुकुमका ६, जाजरकोटका चार, सुर्खेतका ११ र दैलेखका ६ बालबालिकाको संरक्षक हुन्। उनले केही विद्यालयमा अक्षय कोषमार्फत विपन्न बालबालिकालाई सहयोग गरिरहेकी छन्।

‘हरेक बालबालिका शिक्षित होऊन्, गुणित होऊन् र राष्ट्रले खोजेको योग्य नागरिक बनून्, स्वविवेकले आफ्नो निर्णय आफैं गर्न सकून् अनि आपसमा मानवीयताको सञ्चार हुन सकोस्,’ जयन्तीले नागरिककर्मीसँग भनिन्, ‘यही चाहना राखेर दुःखमा रहेका, शिक्षाको उज्यालोबाट वञ्चित हुन लागेका बालबालिकाका लागि विदेशी भूमिबाट सहयोग गरिरहेकी छु।’

बालबालिकाको शिक्षामा मात्रै होइन, अरू सामाजिक क्षेत्रमा पनि जयन्तीको सक्रियता छ। कोरोना संकट, भूकम्प र अरू विपद्का घटनामा उनले महत्वपूर्ण सहयोग गर्दै आएकी छन्। ‘जति दुरीका हिसाबले टाढा भयो, देश, समाज र आफ्नो भूगोलको महत्व धेरै हुँदोरहेछ,’ जयन्तीले भनिन्, ‘भौतिक रूपमा टाढा भए पनि आफ्नो माटोसँग जोडिइरहन समाजसेवाका काम गर्दै छु।’

२०३८ साल मंसिर १६ गते आमा पार्वती थापा र बुवा धर्मजंग थापाको कोखबाट दैलेखको नारायण नगरपालिका–२ नयाँ बजारमा जन्मिएकी जयन्तीले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर पास गरेकी छन्। कक्षा ५ सम्म दैलेखमै अध्ययन गरेकी उनले स्नातक तहसम्मको शिक्षा सुर्खेतबाट पूरा गरिन्। २०५५ सालमा एसएलसी उत्तीर्ण जयन्तीले १६ वर्षकै उमेरमा भागी विवाह गरिन्।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका, राडीज्युलाका सुशील चन्द जयन्तीका कक्षा साथी थिए। उनीहरू ट्युसन पनि सँगै पढ्थे। पढ्दापढ्दै माया बस्यो। घरमा भन्न सक्ने आँट र वातावरण थिएन। ‘भेट भएको तीन महिनामै हामीले विवाह गर्ने निर्णय गर्‍यौं,’ जयन्तीले भनिन्, ‘सुर्खेतबाट भागेर रुकुम पुग्न चार दिन लागेको थियो।’

जयन्ती र सुशीलले २०५५ साल माघ १० गते मन्दिरमा विवाह गरे। पाँचजना आफन्तको उपस्थितिमा भएको विवाहमा उनले सुशीलको हातबाट सिन्दूर होइन, रगतको टीका लगाइन्। उनले पनि दायाँ हातको बुढीऔंला काटेर सुशीललाई टीका लगाइदिइन्। ‘यो देखेर विवाहमा उपस्थित भएका आफन्त र पुजारी तर्सनुभएको थियो,’ उनले स्मरण गरिन्।

मास्टर डिग्री पढ्न जयन्ती र सुशील २०६२ सालमा काठमाडौं आए। त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययन गर्न थाले। उतिबेला अमेरिका जान डिभी भर्ने ठुलै लहर चल्थ्यो। मास्टर डिग्री पूरा गरेपछि सुशीलले अमेरिकाका लागि डिभी भरे। डिभीको नतिजा आउन एक वर्ष जति लाग्थ्यो। रुकुम फर्किएर द्ुवैले बाल कल्याण माविमा पढाउन थाले। गाउँमा पढाउँदै गर्दा अमेरिका जाने सपना उनीहरूले भुलिसकेका थिए। एक दिन डिभी परेको खबर ल्याएर सुर्खेतबाट जयन्तीका भाइ रुकुम पुगे। ‘गाउँभरि डिभी परेको हल्ला फैलियो, आफन्त उनीसँग खुसी साट्न थाले, गाउँमै पढाउँदै गरेका हामीलाई अमेरिका जान दबाब पर्‍यो,’ उनले भनिन्, ‘छोरीसहित तीनैजना सन् २०१० मा अमेरिका पुग्यौं।’

जयन्ती मास्टर डिग्री सकेर काठमाडौंबाट कर्मघर फर्केपछि त्यहाँको समाजसँग घुलमिल भइसकेकी थिइन्। पढाउँदै गर्दा समाजसेवामा पनि उनको ध्यानकेन्द्रित भयो। ‘समाजसँग घुलमिल भइसकेकी थिएँ, सिर्जनशील महिला विकास केन्द्र स्थापना गरेर वातावरणीय सरसफाइ, जनचेतनामूलक कार्यक्रम, महिलामाथि हुने हिंसा र विभेदबारे जागरणलगायत बालबालिकालाई स्कुलको पहुँचसम्म पुर्‍याउने अभियान सञ्चालन गरेका थियौं,’ उनले भनिन्, ‘समाजसँग पुरै घोलिएको बेला डिभी पर्‍यो भन्ने सुन्दा साह्रै नरमाइलो लाग्यो।’

जयन्तीले उतिबेलै गाउँमा मदिरा नियन्त्रण अभियान चलाएकी थिइन्। पुरुषले मदिरा सेवन गर्ने अनि घरमा पत्नी र छोराछोरी कुट्ने कुरीति अन्त्यका लागि मदिरा निषेध अभियान चल्यो। प्रहरीसँगको साझेदारीमा मदिरा सेवन गर्नेलाई जरिवाना गर्न थालियो। ‘महिलामाथि हुने हिंसाको प्रमुख कारण मदिरा थियो,’ उनले भनिन्, ‘त्यसैले हामीले मदिरा नियन्त्रण अभियान सुरु गर्‍यौं।’