☰ open Loading... 13 March 2025|  

प्रश्नपत्रको भिडियो बनाई टिकटकमा राख्ने शिक्षक सेवाका परीक्षार्थीको परीक्षा रद्द
  | ३१ श्रावण २०७९, मंगलवार ०५:४४

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अनुमति पत्रको परीक्षामा सहभागी हुँदा प्रश्न पत्रको भिडियो बनाएर टिकटकमा राख्ने एक जना परीक्षार्थीको परीक्षा रद्द गरेको छ ।

आयोगले साउन २८ गते सञ्चालन गरेको निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षामा सुदूरपश्चिम प्रदेश अन्तरगत कैलालीको केन्द्र नम्बर ७११ त्रिभुवन माध्यमिक विद्यालय बोराडाँडी ‘ख’ केन्द्रमा परीक्षार्थी विनोदकुमार बमको दरखास्त रद्द गर्ने निर्णय गरेको हो ।

यति मात्र नभई आयोगले आयोगद्वारा आगामी २ वर्षसम्म सञ्चालन हुने अध्यापन अनुमति पत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन नदिने निर्णय पनि गरेको छ ।

उनले परीक्षाको मर्यादा विपरीत प्रश्न पत्र र उत्तर पुस्तिकाको भिडियो बनाइ सामाजिक सञ्जालमा राखेको भन्दै शिक्षक सेवा आयोग नियमावली, २०५७ को उपनियम २६ को उपनियम एक अनुसारको कसुर गरेपछि यस्तो निर्णय गरेको जनाएको हो ।

आयोगले एक सूचना जारी गर्दै सोही नियमावली नियम ४३ अनुसार आउँदो दुई वर्षसम्म आयोगबाट सञ्चालन गरिने अध्यापन अनुमति पत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको जानकारी गराएको छ ।