☰ open Loading... 19 October 2024|  

द्वन्द्वको समयमा जागिर गुमाएका शिक्षकको पुनर्बहाली
  | ४ भाद्र २०७९, शनिबार ०५:३५

रुकुम । रुकुम पश्चिममा सशस्त्र द्वन्द्वको समयमा विस्थापित भई जागिर गुमाएका ५ जना शिक्षक पुनर्बहाली भएका छन् । उनीहरूले शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पश्चिमबाट पुनर्बहालीको पत्र बुझी दरबन्दी रिक्त रहेका विद्यालयमा हाजिर हुन गएका छन् ।

पुनर्बहाली हुने शिक्षकहरूमा ५ जना प्राथमिक तहका रहेको शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पश्चिमले जानकारी दिएको छ । जिल्लाका रिक्त रहेका विद्यालयहरूमा पुनर्बहाली भएका शिक्षकहरूलाई पुनर्बहालीको पत्रसहित पठाइएको शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पश्चिमका निमित्त प्रमुख डायमण्ड पुनले जानकारी दिए ।

उहाँकाअनुसार पुनर्बहाली हुने शिक्षकहरू ओमप्रकाश बिसीलाई त्रिवेणी गाउँपालिका, रामबहादुर बुढा मगरलाई बाँफीकोट गाउँपालिका, जीतबहादुर शाहलाई सानीभेरी गाउँपालिका, मधुसुदन अधिकारी र नरबहादुर खड्कालाई आठविसकोट नगरपालिका अन्तर्गत पदस्थापनका लागि पत्र दिएर पठाएको छ ।

सरकारले माओवादी जनयुद्ध र आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीहरूलाई पुनर्बहाली र क्षतिपूर्ति दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले देशभरका ५८६ जना शिक्षक तथा कर्मचारी व्यवस्थापनको निर्णय गरेको थियो ।