☰ open Loading... 19 October 2024|  

मलेसियामा पुराना सेक्युरिटी गार्डहरुले बढी तलब नपाएको गुनासो
  | ५ भाद्र २०७९, आईतवार ०७:५३

काठमाडौं : मलेसियामा सुरक्षागार्डमा कार्यरत नेपालीहरूले आफूहरूले बढेको न्यूनतम तलब पाउन नसकेको व्यापकरूपमा गुनासो गरेका छन् । मलेसियामा विगत ३/४ वर्षदेखि कार्यरत रहेका आफूहरूलाई कतिपय सेक्युरिटी कम्पनीहरूले मासिक १२ सय रिँगेट तलब दिएर जबरजस्ती १५ सय रिँगेट बुझेको भर्पाईमा सही गराउने गरेको बताएका छन् । मलेसियाले गत मे महिनाको पहिलो तारेखदेखि न्यूनतम तलब मासिक १ हजार ५ सय रिंगेट कायम गरेको हो ।

 

मलेसियास्थित नेपाली दूतावासले आयोजना गरेकोे साप्ताहिक फेसबुक कार्यक्रममा मलेसियाको अल शेफ सेक्युरिटी कम्पनीमा कार्यरत दुर्गा ढकालले मलेसिया सरकारले न्यूनतम तलब बढाएको साढे तीन महिनासम्म पनि मासिक न्यूनतम १५ सय रिँगेट तलब नपाएको बताए ।

 

कार्यक्रम सञ्चालन गरेका श्रम सहचारी प्रकाश पन्थीले ढकालले दूतावासमा न्यूनतम तलब नपाएको गुनासा व्यापकरूपमा आउने गरेकोे बताए । त्यस्ता गुनासा आएपछि कम्पनीको आधिकारिक प्रतिनिधिलाई दूतावासमा बोलाएर न्यूनतम तलब नपाएको विषयमा जानकारी लिने र तलब दिने लिखित प्रतिबद्धता गराउने गरेकोे बताए ।

 

श्रम सहचारी पन्थीले मासिक न्यूनतम १५ सय रिँगेट तलब नपाएका कामदारहरुलाई कामदारका लागि बनाइएको डब्लूएफडब्लू एप्लिकेशनमार्फत वा नेपाली दूतावासको इमेलमा जानकारी दिन आग्रह गरे ।

 

सेक्युरिटी गार्डको रोजगारी गरिरहेका कतिपय नेपालीले भिसा थप नगरी काममा लगाएको समेत गुनासो गरेका छन् ।

 

नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतापछि सेक्युरिटी गार्डको रोजगारीमा गएका कामदारले मासिक न्यूनतम १५ सय रिँगेट तलब पाएपनि त्यसअघि गएका धेरैजसोले नपाएको आंकलन गरिएको छ ।

 

मलेसियामा अन्य कामदारले ८ घण्टा काम गरेपनि सेक्युरिटी गार्डको न्यूनतम कार्य अवधि १२ घण्टा हुने गरेकोे छ । सामान्य कामदारको तुलनामा डेढी समय काम गर्नुपर्ने तर तलब सामान्य कामदार सरहको नभएपछि गुनासो बढेको हो ।

 

गत वैशाख अन्तिम हप्ता मलेसिया भ्रमणमा गएका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले सुरक्षागार्डको मासिक न्यूनतम तलब १५ सय रिँगेट र ओभरटाइम वापतको पारिश्रमिक स्पष्ट नभएको मागपत्र प्रमाणीकरण बन्द गर्न निर्देशन दिएका थिए ।