☰ open Loading... 18 October 2024|  

अपमानजनक नाम राखिएका कविराम र कर्णबहादुरको सच्चियो नागरिकता
  | ६ भाद्र २०७९, सोमबार ०५:२८

दैलेख :नागरिकतामा अपमानजनक नाम राखिएका दैलेखका दुई जनाको नाम सच्याएर नागरिक प्रमाणपत्र जारी गरिएको छ ।नेपाली नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कविराम कामी र ‘ठगे कामी’ लेखिएका कर्णबहादुर बिकको नागरिकता सच्याइएको हो ।

साबिक मेहेलतोली गाविस–६ हाल भगवतीमाई गाउँपालिका मेहेलतोलीका कविराम र साबिक कट्टी गाविस–६, हाल भगवतीमाई गाउँपालिका–५ का कर्णबहादुरले नयाँ नागरिकताको प्रमाणपत्र पाएका हुन् ।

साउन २३ गते गृह मन्त्रालयले नाममा अपमानजनक शब्द प्रयोग गरेर विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता प्रमाणपत्र सच्याउन परिपत्र गरेको थियो ।गृहको परिपत्रसँगै कविराम र कर्णबहादुरले साउन २४ गते अपमानजनक नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपिका लागि जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।

 

आवश्यक प्रक्रिया पुर्‍याएर कविराम कामी र कर्णबहादुर विकको नयाँ नागरिकताको प्रमाणपत्र जारी गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।नागरिकतामा अपमानजनक नाम लेखिएका अन्य व्यक्तिहरूलाई पनि जिल्ला प्रशासनको सम्पर्कमा आउन आग्रह गरिएको छ ।