☰ open Loading... 19 September 2024|  

‘मिटर ब्याज’को गैरकानुनी धन्दाले बिचल्ली
  | ८ भाद्र २०७९, बुधबार ०५:२६

सुर्खेत: छोटो म्यादमा धेरै ब्याज लिने गैरकानुनी धन्दा ‘मिटर ब्याज’ को जालोमा कर्णालीका थुप्रै व्यक्तिहरू परेको पाइएको छ । तत्कालै धेरै कमाइने लोभले मिटर ब्याजमा लगानी गरेका र ऋण लिएका दुवै पक्ष अहिले बिचल्लीमा छन् । स्थानीय प्रशासनले उक्त अवैध कारोबारमा पीडित बनेकालाई उजुरी दिन आह्वान गरेपछि त्यस्तो धन्दामा संलग्नहरूको संख्या धमाधम खुल्न थालेको हो ।

गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार कर्णाली प्रदेशभर मिटर ब्याज कारोबारमा ठगिएको भन्दै २२ जनाले उजुरी दिएका छन् । यसरी उजुरी दिनेमा सुर्खेतका धेरै छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचनामार्फत पीडितलाई उजुरी दिन भनेको छ । प्रशासन कार्यालयका अनुसार मंगलवारसम्म ११ वटा उजुरी परेका छन् । तीमध्ये अधिकांश उजुरी वीरेन्द्रनगरभित्रका हुन् । यसले पनि सहरी क्षेत्रमा मिटर ब्याजको धन्दा बढी हुने गरेको देखिएको छ ।

चर्को ब्याजमा ऋण दिएर ठग्दै आएका घटनाहरू बाहिरिएपछि गृह मन्त्रालयले साउन २८ मा सूचना जारी गरेर भदौ ५ गतेभित्र सम्बन्धित जिल्ला प्रशासनमा त्यस्ता पीडितहरूलाई उजुरी दिन अनुरोध गरेको थियो । प्रशासन कार्यालयहरूले त्यसयता पनि उजुरी आउने क्रम भने जारी रहेको बताएका छन् । मिटर ब्याजी पीडितले उजुरी दिन आउनेक्रम रहिरहेकोले गृह मन्त्रालयले म्याद थपसमेत गरेको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले छोटो समयमा सोचेभन्दा धेरै उजुरी आएको बताए । ‘यहाँ पनि मिटर ब्याजजस्तो गैरकानुनी कारोबार ब्यापक भइरहेको रहेछ,’ उनले भने, ‘एक जनाले आफू २३ जना व्यक्तिबाट पीडित भएको भन्दै उजुरी दिएका छन् ।’ ती व्यक्तिले २३ जना मिटर ब्याजीविरुद्ध उजुरी दिएको उनले जनाए ।

प्रशासन कार्यालयमा आएका उजुरीको विवरण हेर्दा चर्को ब्याजमा ऋण दिएर अटोपास गर्ने, तमसुक गर्ने, खाली चेक दिने, रकम असुल नभए मुद्दा गर्ने, बाध्यतामा पारेर घरजग्गा आफ्नो नाममा बनाउने लगायतका गतिविधि हुने गरेको पाइएको छ । यस्ता प्रकृतिका उजुरी धेरै आएको सहायक प्रजिअ पाण्डेले बताए । पीडित भएको भन्दै उजुरी दिएका वीरेन्द्रनगरका एक जनाको विवरणमा एउटाबाट ५० लाख रूपैयाँ ऋण लिएको तर परिबन्धमा पारी ८० लाख रूपैयाँको कागज गराएको उल्लेख छ । उनले अहिलेसम्म ६० लाख रूपैयाँ बुझाउँदा पनि अझै तिरिरहरनु परेको बताएका छन् । उनैले अर्का व्यक्तिविरुद्ध दिएको उजुरीमा पनि १५ लाख रूपैयाँ ऋण लिएको र हालसम्म १९ लाख रूपैयाँ दिइसक्दा पनि ति व्यक्तिले अदालतमा मुद्दा हाल्ने धम्की दिएको उल्लेख गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा परेको एउटा अर्को उजुरीमा एक जना व्यक्तिबाट ११ लाख रूपैयाँ ऋण लिएको तर हालसम्म पटक–पटक सावाँब्याज गरेर २५ लाख रूपैयाँ दिँदा पनि पैसा लिएको छैन भन्दै अदालतमा मुद्दा हालिदिने धम्की दिएको उल्लेख गरिएको छ ।

यस्तै, एक जना व्यक्तिले आठ लाखको मासिक एक लाख ६० हजार रूपैयाँ ब्याज तिर्नुपरिरहेको भन्दै उजुरी दिएका छन् । उनले ऋण दिएको व्यक्तिले आफूले तिरिरहेको मासिक ब्याजको भरपाइ गर्नसमेत नमानेको उजुरीको विवरणमा जनाएका छन् । सोही व्यक्तिले अहिले उक्त ऋणको ११ लाखको तमसुक बनाएर अदालतमा मुद्दा दायर गरेको ती पीडितले उजुरीमा जनाएका छन् । सहायक प्रजिअ पाण्डेले मिटर ब्याजीविरुद्ध आएका उजुरीहरूको अब अध्ययन थालिने बताए । यस्ता उजुरीको संख्या अझै बढ्ने अनुमान गरिएको छ । ‘आएका उजुरीहरूको अध्ययन सुरु गर्छाैँ,’ उनले भने, ‘हाम्रो कार्यक्षेत्रभित्र पर्ने उजुरीको कारबाही यही हुन्छ, जटिल खालका उजुरीहरू गृह मन्त्रालमै पठाउँछौँ ।’ उनका अनुसार सरकारले अहिलेसम्म यस विषयलाई सम्बोधन गर्नेगरी कुनै कानुन बनाएको छैन । यस अध्ययनले देशैभरी आर्थिक कारोबार कसरी हुँदो रहेछ भन्ने पनि देखिने उनी बताउँछन् ।

जानकारहरूका अनुसार मिटर ब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि शोषण गरेर उनीहरूको परिवारकै बिचल्ली बनाएका छन् । मिटर ब्याजको कारोबारमा घरजग्गा व्यवसायी बढी संलग्न छन् । ठूला ब्यापारीदेखि गृहिणीसम्म यो जालोमा फसेको बताइएको छ । मिटर ब्याजको कारोबार आर्थिक अपराध भएकोले त्यस्ता व्यक्तिहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने प्रक्रिया सुरु गरिएको सरकारले जनाएको छ । सरकारले मिटर ब्याजी अपराध नियन्त्रण उपाय सिफारिस गर्न कार्यदल समेत बनाएको छ । मिटर ब्याज पीडितहरूबाट देशभर अहिलेसम्म एक हजार नौ सय ३७ वटा उजुरी प्राप्त भएको गृृह मन्त्रालयले जनाएको छ ।साझा बिसौनीबाट