☰ open Loading... 20 September 2024|  

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, नागरिकता विधेयक रोक्न माग
  | ९ भाद्र २०७९, बिहीबार ०५:०५

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति विद्या भण्डारीबाट फिर्ता आएको नागरिकता विधेयक रोक्न आग्रह गरेको छ ।

 

एमाले अध्यक्ष ओली सहितका नेताले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गरेर विधेयक रोक्न माग गरेका हुन् ।

 

एमालेले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकबारे पनि चासो देखाएको छ । मेलमिलाप विधेयकमा पीडकलाई उन्मुक्ति दिने गरी सरकारले विधेयक ल्याएकोले त्यसलाई सच्याउन एमाले अध्यक्ष ओलीले ध्यानाकर्षण गराएका हुन् ।

 

सबै पीडितले न्याय पाउने गरी विधेयक ल्याइनुपर्ने एमालेको माग छ । एमालेले प्रदेश र प्रतिनिधिसभाको चुनाव स्वतन्त्र र निष्पक्ष वातावरणमा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

 

एमाले अध्यक्ष ओलीले महँगी नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्नुपर्ने सुझाव पनि सरकारलाई दिएका छन् । एमालेको सुझावप्रति प्रधानमन्त्री देउवाले सकारात्मक जवाफ दिएको बताइएको छ ।

 

एमाले नेतासँगको छलफलमा प्रधानमन्त्री देउवाले भने सरकारले सबै पक्षका माग र भावनालाई समेटेर विधेयक अघि बढाएको जानकारी गराएका छन् ।

 

अहिले पारित भएका विधेयकमा कमजोरी देखिए भने तिनलाई सुधार्न सकिने भन्दै प्रतिपक्षका रचनात्मक सुझावलाई सरकारले गम्भिरतापूर्वक लिने बताएका छन् ।