☰ open Loading... 19 September 2024|  

किसानलाई स्याउ टिप्न चटारो
  | १२ भाद्र २०७९, आईतवार ०५:०६

गमगढीः मुगुको छायाँनाथ रारा नगरपालिका–५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिवेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै व्यस्त छन् । रोकाया र भाम मात्र होइन गाउँका सबैलाई स्याउ टिप्न चटारो छ ।

 

यतिबेला मुगुमा स्याउ उत्पादन हुने क्षेत्रका किसान स्याउ बगैँचामै भेटिन्छन् । उत्पादन हुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ । उनीहरु बिहानैदेखि स्याउ टिप्न व्यस्त देखिन्छन् । जिल्लाको बाम, ताल्चा, रोवा, शोभा, खमाले सेरीलगायत क्षेत्र स्याउको पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रका किसान स्याउ टिपेर आर्थिक उपार्जनमा लागेका छन् ।

 

भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म स्याउ बारीमै व्यस्त रहन्छन् । ‘हाम्रो आम्दानीको श्रोत नै यही हो’, छायाँनाथ रारा–५ ताल्चाकी विस्नमाया रोकायाले भनिन् । यो समय स्याउ टिप्नका लागि उपयुक्त नभएको उनको भनाइ छ । उनका अनुसार भदौ अन्तिम सातामा टिप्नलाई उचित हुन्छ ।

 

समय अघि नै किसान स्याउ टिप्न थालेका छन् । ‘ढिला टिपे कुहिन्छ की भन्ने चिन्ता छ”, छायाँनाथ रारा–५ कै हरिबहादुर भामले भने, ‘बिक्री नहुने हो की चिन्ता छ ।’ धमाधम स्याउ टिपेर किसानले बगैंचा खाली गर्न थालेका छन् । किसानलाई स्याउ भण्डारण गर्न समस्या छ । ‘उचित ठाउँ अभावले स्याउ कुहिले डर छ’, उनले भने ।

 

स्याउ खरिद गर्न स्थानीय व्यापारी बगैँचामै आएका छन् । व्यापारी आएका कारण पनि किसानले काचै स्याउ बेच्न हतार गरिरहेको देखिन्छ । ‘पछि व्यापारी भेटिन्न की भन्ने समस्या छ’, भामले भने । व्यापारीले बगैँचाबाटै प्रतिकिलो ३० रुपैयाँमा स्याउ किन्ने गरेका छन् । उत्पादन धेरै भएको स्याउ बजारीकरणको समस्याले कुहिने डरले हतार हतारमा बिक्री गर्न लागेको उनी बताउँछन् ।