☰ open Loading... 19 September 2024|  

आसन्न निर्वाचनमा सुर्खेतबाट २ लाख ४७ हजार मतदाताले मतदान गर्ने
  | १२ भाद्र २०७९, आईतवार ०५:११

आगामी मंसिर ४ गते हुने प्रदेशसभा र संघीय निर्वाचनका लागि सुर्खेत जिल्लाबाट २ लाख ४७ हजार ७४० जनाले मतदान गर्ने भएका छन् ।  जसमध्ये १ लाख २० हजार ७१४ जना पुरुष रहेका छन् भने १ लाख २७ हजार २६ जना महिलाले मतदान गर्न पाउने भएका छन् ।

२ वटा प्रतिनिधिसभा र  चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा निर्वाचन क्षेत्र नं.–१ म एक लाख २३ हजार ७५ जना मतदाता संख्या रहेको छ भने क्षेत्र नं.–२ मा १ लाख २४ हजार ६६५ जना मतदाता संख्या रहेको प्रदेश निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै वीरेन्द्रनगर नगरपालिकामा मतदाता संख्या सबैभन्दा बढी रहेको छ । यद्यपि यो तथ्याङ्क निर्वाचनसम्म घटबढ पनि हुनसक्ने अनुमान उनको छ । यस्तै यही भदौ १२ गते निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

उक्त कार्यतालिका अनुसार मतदाता नामावलीमा कसैले झूटा विवरण दिएर नामावलीमा नाम सिफारिस गरेको खण्डमा उजुरी दिनसक्ने मिति १३–१५ गतेसम्मका लागि तोकिएको छ । उजुरी परेको खण्डमा मतदातालाई प्रमाणसहित सफाइका लागि १३–१७ गते सम्मका लागि तोकिएको उनले बताए ।

चालिसेले भने, ‘मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउनका लागि १३–१६ गतेको समयावधि तोकिएको छ । मतदानको हकमा जाँचबुझ गरि मृत्यु भएका मतदाताको प्रमुख नाम दर्ता अधिकारीले नामावलीबाट नाम हटाउने समयावधि १३–१७ गते तोकिएको छ ।’