काठमाडौं : आगामी चुनावमा करिब दुई लाख ४६ हजार कर्मचारी परिचालन हुने भएका छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा आवश्यकमध्ये करिब ९८ प्रतिशत कर्मचारी मतदान केन्द्रमा परिचालन हुने छन् ।
मतदान केन्द्रको संख्यामा निर्भर भए पनि करिब दुई लाख ४६ हजार ९ सय ६० जनशक्ति आवश्यक पर्ने आयोगले जानकारी दिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान केन्द्रको संख्या करिब २३ हजार सात सय हुने अनुमान गरेको छ ।
स्थानीय चुनावमा २१ हजार नौ सय ५५ मतदान केन्द्र तोकिएको थियो । प्रत्येक मतदान केन्द्रमा ११ जना जनशक्ति हुने छन् । मतदान केन्द्रमा आठ जना कर्मचारी र तीन जना स्वयंसेवक राखिने आयोगले जनाएको छ ।
चुनावमा एक सय ६५ निर्वाचन क्षेत्र मात्रै रहेकाले सोही संख्यामा निर्वाचन अधिकृतको कार्यालय रहने छन् । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा एक हजार चार सय ८५ कर्मचारी नियुक्त हुने छन् ।
मतगणनाका लागि आयोगले दुई हजार चार सय ७५ जना कर्मचारी आवश्यक हुने आयोगको भनाइ छ । मतगणना कार्यका लागि क्षेत्रअनुसार पाँच जना कर्मचारी परिचालन गरिने भएको छ ।