☰ open Loading... 26 November 2024|  

उम्मेदवार हुन आकांक्षीको लर्को, धमाधम नाम सिफारिस
  | २० भाद्र २०७९, सोमबार ०५:१८

दैलेख । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित ठूला राजनीतिक दल उम्मेदवार सिफारिसमा व्यस्त भएका छन् । केही दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रगतरूपमा उम्मेदवार सिरफारिस सकेका छन् भने केही सिफारिसका लागि छलफलमा जुटिरहेको जनाएका छन् । दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा क्षेत्र रहेको दैलेखमा नेकपा एमालेले उम्मेदवारको नाम टुंगो लगाएको छ ।

 

दैलेख क्षेत्र–२ बाट प्रतिनिधिसभाको लागि नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले एमाले प्रचार प्रसार उपप्रमुख तथा युवा नेता बिष्णु रिजाल, प्रतिनिधिसभा सांसद राज बहादुर बुढा, कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही, पार्टी कर्णाली प्रदेश अध्यक्ष बिनोद शाह र जिल्ला इन्चार्ज लक्ष्मी पोखरेलको नाम सिफारिस  छ ।

 

नेकपा एमालेको जनाधार बलियो रहेको दैलेख क्षेत्र नं–१ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेमा नेकपा एमालेका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा, केन्द्रीय सदस्य धर्मराज रेग्मी र रेखा थापा रहेका छन् ।

 

दैलेख क्षेत्र नं–१ क बाट प्रदेशसभा निर्वाचनको लागी हिमाल जंग शाह, नन्दकिसोर बस्नेत, दान बहादुर थापा, प्रेम खडका, हेम वली, कर्ण बहादुर खड्का, बिष्णु कुमारी जैसीको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर १ ख बाट रन्न बहादुर खड्का, प्रेम थापा, तेज बहादुर चन, सुशील केसी, मिन बहादुर बुढा, गगन अधिकारी सिफारिस भएका छन् ।

 

यस्तै दैलेख क्षेत्र नम्बर २ प्रदेससभा ‘क’ बाट प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारका लागि नेकपा एमालेले दश जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा कर्णाली प्रदेशसभा सदस्य सुशील थापासहित तिलक प्रसाद रिजाल, गंगाराम दाहाल, नवीन कुमार योगी, हिक्मत वि.क, नर बहादुर थापा, कर्ण बहादुर शाही, चन्द्र पोखरेल, रमेश आचार्य र सावित्रा खड्कालाई सिफारिस गरेको छ ।