☰ open Loading... 19 September 2024|  

के मेवाको पातले डेंगु निको हुन्छ ?
  | २१ भाद्र २०७९, मंगलवार ०५:५५

काठमाडौँ — पाटनका ५० वर्षीय एक पुरुष सोमबार एउटा ठेला व्यापारीबाट मेवा किन्दै गरेका भेटिए । उनले हातमा मेवाको ३ वटा ताजा हरियो पातसमेत बोकेका थिए । उनले घरमा छोरालाई डेंगु भएकाले छिमेकीको घरबाट टिपेको बताए । ‘अहिलेसम्म त खुवाएको छैन । छिमेकीले भनेर सुनेको हुँ। यसले डेंगु सञ्चो गराउँछ रे,’ उनले भने ।

तस्बिर : सटरस्टक

शंखमूलकी ४० वर्षीया एक महिला विगत एक हप्तादेखि डेंगुबाट पीडित छिन् ।उनलाई एकजना साथीले मेवाको पात खाएपछि प्लेटलेट्स बढ्छ भनेपछि उनले मेवाको पात सेवन गरेको बताइन् । तर उनलाई मेवाको पातले उल्टी आउन थालेपछि खाइनन् । भन्छिन्– ‘मेरो एकजना साथीलाई त राम्रै भएको थियो तर मलाई सञ्चो गराएन ।’

डेंगु संक्रमण बढ्दै गएको छ । देशभर हाल ७२ जिल्लामा ५ हजारभन्दा बढी डेंगुको केस भेटिएका छन् । घर–घरमा डेंगुको बिरामी बढेसँगै मानिसहरू बढिरहेका त छन् नै अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दो छ । डेंगुमा अत्यधिक जिउ दुख्ने, उच्च ज्वरो आउनु, आँखाको गेडी दुख्नु, वाक–वाक वा बान्ता हुनु, पखाला वा पातलो दिसा लाग्नु, प्लेटलेट्स घट्नुलगायतका लक्षण हुन्छन् ।

चिकित्सकहरूका अनुसार डेंगुको विशेष औषधि छैन । यसलाई लक्षणका आधारमा उपचार गरिन्छ तर हाल मानिसहरू मेवाको पातले डेंगु ज्वरो र प्लेट्स बढाउने भन्दै जथाभावी सेवन गरिरहेको पाइएको छ । यसरी चिकित्सकीय परामर्शबिना दुई डेंगुमा मेवाको पातले प्लेटलेट्स बढ्न मद्दत गर्छ भन्दै जथाभावी सेवन गर्ने यी प्रतिनिधि पात्र मात्र हुन् ।

के मेवाको पातले डेंगुमा लाभदायिक हुन्छ त? के यसले प्लेटलेट्स बढाउँछ त?

जवाफ हो– आयुर्वेदिक चिकित्सा पद्धतिअनुसार बढाउनसक्छ, तर यसलाई चिकित्सकीय निगरानीबिना खाँदा भने फाइदा हुनुको साटो उल्दै बेफाइदा गराउने आयुर्वेदका विज्ञहरुको भनाइ छ । मेवाको पातको जथाभावी सेवनले बान्ता हुने, पेट काटने, पेट दुख्ने, पेट बाउँडिने जस्तो समस्या देखिने सक्ने विज्ञ बताउँछन् । यस्तै आधुनिक चिकित्सा विज्ञानमा भने मेवाको पातले डेंगुका बिरामीलाई फाइदा गर्नेबारे कुनै प्रमाणित तथ्य छैन ।

तस्बिर : सटरस्टक

नेपाल आयुर्वेद चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. प्रकाश ज्ञवालीका अनुसार कोरोना महामारीका बेला गुर्जोको जथाभावी सेवनले मानिसहरुको स्वास्थ्यमा असर पारेको थियो त्यस्तै डेंगुको बेलामा नहोला भन्न सकिन्न । डा. ज्ञवाली भन्छन्– ‘मेवाको पात दुरुपयोग हुन थाल्यो जसरी पहिले गुर्जो प्रयोग गरेका थिए । मेवाको पातमा एउटा इन्जाइम हुन्छ जसले प्लेटलेट काउन्ट बढाउँछ । तर त्यसको निश्चित मात्रा मिलेको हुनुपर्छ।’

उनका अनुसार यो प्रशोधित हुनुपर्छ र निश्चित समय र मात्रा मिलाएर खानुपर्छ । उनले जसले जे भन्छ त्यही सिको गरेर जथाभावी खान थालेको र त्यसले थप स्वास्थ्य समस्या निम्त्याउने बताए । ‘काँचै त्यसरी खान मिल्दैन। निश्चित डोजमा निश्चित समयमा अनि चिकित्सकको निगरानीमा खानुपर्छ । मेवाको पात आफैंमा नराम्रो होइन तर तरिकाबिना खाँदा यसले हानी गर्छ ।यसको सिरप वा ट्याब्लेटमा आएका छन् तर आफूखुसी किनेर खानुहुँदैन ।’

उनले यसरी जथाभावी खाँदा पेट बाउँडिने तथा उल्टी हुने समस्याका साथ पछि गएर कलेजो तथा पेटमा समस्या ल्याउन सक्ने बताए । नरदेवी आयुर्वेद अस्पतालका निर्देशक डा. प्रदीप केसीले पनि औषधिजन्य वा रेडिमेड रूपमा छ भने मात्र यो लाभदायिक हुने नभए यसले हानी गर्ने बताए। ‘यसमा प्लेटलेट्स बढाउने सक्ने कुरा साँचो हो । तर जथाभावी खाने होइन ।कोरोनाका बेला जथाभावी गुर्जो खाँदा आयुर्वेद नै बदनाम भयो । हामीले मेवाको पात खान सुझाएका छैनौँ। सर्लक्कै थिचेर खाने चिज होइन ।’

के डेंगुले महामारीको रूप लिएको हो?

शुक्रराज ट्रोपिकल अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले डेंगुका बेला प्लेटलेट्स घट्ने भए पनि निको हुँदै जान थालेपछि स्वत: सामान्य बन्दै जाने भएकाले जथाभावी केही नखान सुझाउँछन् । डा. चालिसे भन्छन्– ‘अनावश्यक हल्लाका पछि लाग्नु हुँदैन। डेंगु निको हुन्छ भन्दै मेवाको पातलगायत अरु जडिबुटी खाने पाइएको छ। साथीभाइको लहैलहैमा वा अरुले भनेको भरमा खाने चलन छ । महामारीका बेला त्यस्ता सल्लाह दिने थुप्रै हुन्छन् । घटेको प्लेटलेट्स आफैं बढ्दै आउँछ आत्तिनु पर्दैन । डेंगुका बिरामीमा सामान्य लक्षण छ भने घरमै आराम गरेर बस्ने र ताजा झोलिलो खानेकुराहरु बढी खानुपर्छ ।’

उनका अनुसार गिँजा वा पिसाबबाट रगत आएमा, चोटपटक लागेर रगत बगिराखेमा, रक्तचाप कम हुनेलगायतका समस्या भए अस्पताल आउनुपर्छ। ‘डेंगुको बिरामीलाई साधारण लक्षण छ भने सिटामोल खाने र घरमा बस्ने आराम गर्नुपर्छ । सित्तैमा दिएको सुझाव लाभदायक नहुन सक्छन् । स्वास्थ्यकर्मीको सल्लाहबमोजिम औषधि सेवन गर्नुस्,’ उनले भने।

कोरोना महामारीका बेला पनि गुर्जो खाने लहर चलेको थियो र मात्रा नमिलाइ खाँदा त्यसबाट उल्टो असर देखिएकाले चनाखो हुनुपर्ने विज्ञहरुको भनाइ छ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगुको बेला मेवाको पात खानुपर्छ भन्ने हल्ला २०१९ को डेंगु महामारीको बेला पनि फैलिएको थियो । डा. पुन भन्छन्– ‘डेंगु महामारीको बेलामा सुनिन्छ यो हल्ला । अहिले फेरि दोहोरिएको छ तर त्यसरी जथाभावी खान छोडेका छैनन् । चिकित्सकको सल्लाहबिना कुनै पनि रोगमा केही पनि नखाएको राम्रो मानिन्छ।’

उनले क्लिनिकमा चिकित्सकको परामर्शबिना औषधि किनेर खाने गरेको र त्यसको जटिलता लिएर बिरामी जाँचका लागि आउने गरेको बताए।

‘ओपीडीमा जथाभावी औषधि खाएर आएको केसहरु भेटेको छु । डेंगुमा कुनै दुखाइ कम गर्ने औषधि वा अरुले भनेकै भरमा केही पनि खानु हुँदैन यसले राम्रो भन्दा हानि गर्छ । खाने नै हो भने जानकारी लिएर मात्र खानुपर्छ । कति मात्रामा खाने?कसरी खाने? कस्ताले खान हुने? भन्ने कुराको जानकारी हुन आवश्यक छ । सम्बन्धित विशेषज्ञलाई मात्र सोधेर खान आवश्यक छ,’ उनले भने ।कान्तिपुर दैनिकबाट