☰ open Loading... 20 September 2024|  

तालिम सञ्चालनको रकम दुरुपयोग गर्ने ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  | २७ भाद्र २०७९, सोमबार ०५:०९

दैलेखको चामुण्डा माध्यमिक विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विभिन्न तालिम संचालनका लागि प्राप्त साढे तीन करोड रुपैयाँ हिनामिना गरेको खुलेको छ । अनियमिततामा संलग्न ११ जनाविरुद्ध अख्तितयार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, कर्णाली प्रदेश, प्रदेश कार्यालय वीरेन्द्रनगर, सुर्खेतका तत्कालिन प्रमुख भीमकान्त लामिछाने, मोहन बहादुर कार्की, लेखाअधिकृत शिवराम रोकाय, चामुन्डा माविका प्रधानाध्यापक जय प्रसाद तिमल्सिेना, सहलेखापाल नरेश शाही, बिद्यालयका अध्यक्ष नन्द बहादुर शाही, स्थानीय धुपेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्रालयका कर्मचारीहरु पदमबहादुर बुढा क्षेत्री, गंगराज शाही र हिराबहादुर शाहीविरुद्ध मुद्दा चलेको हो । उनीहरुले तीन करोड ४३ लाख ८८ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ ।

 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, कर्णाली प्रदेश, प्रदेश कार्यालय वीरेन्द्रनगर, सुर्खेतले विना सूचना, विना प्रतिष्पर्धा एकै चोटी कार्यक्षेत्र, क्षमता, आवश्यक पूर्वाधारसमेत अध्ययन नगरी तालिम संचालनको अनुमति दिई श्री चामुण्डा माध्यमिक विद्यालय चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ हाडाकोट दैलेखसँग सम्झौता गरेको र उक्त विद्यालय आफैले सञ्चालन गर्नुपर्ने तालिम इलाईट इन्फ्रास्ट्क्चर एण्ड डिभलपमेन्ट कन्सल्टयान्ट प्रा.लि. काठमाडौंलाई सबै तालिम संचालन गर्न दिइएको थियो ।

 

सो विद्यालय आफैले अनुमति प्राप्त गर्नुपूर्व करारनामा गरी तालिम संचालन गर्न दिएको भनी सम्झौता कागज तयार गरेको र यसरी सम्झौता गर्दा कुनै सूचना प्रकाशन एवम् प्रतिष्पर्धा नगरी सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् आर्थिक प्रशासनसम्वन्धी विनियमावली, २०६२ मा रहेका प्रावधान विपरीत वोलपत्रमार्फत गर्नुपर्ने कार्य नगरी सिधै मिलेमतोमा तालिम संचालन गर्न दिएको, छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम संचालन कार्यविधि २०७५ अनुसार प्रशिक्षार्थी छनौट प्रक्रिया र तालिमका सहभागीहरुको योग्यता तोकिएकोमा सो पालना गरिएको थिएन ।

 

सिधै निजी संस्थाले प्रशिक्षार्थी छनौट गरेको देखिएको, उक्त कार्यविधि अनुसार मुख्य र सहायक प्रशिक्षक नतोकिएको, सामान खरिद गरेको भन्ने झुठा विलहरु पेश गरेको र खरिद सामान आम्दानी तथा खर्च गरेको नदेखिएकोबाट तालिम संचालनका लागि चाहिने सामान नै खरिद नगरिएको भन्ने देखिँदादेखिँदै तालिम संचालन भएको भनी रितपूर्वकका विलभरपाई, कागजात नराखी, लेखाङ्कनसमेत नगरी, नक्कली तथा झुठ्ठा विल भरपाई कागजातहरु पेश गरी सो विद्यालयबाट गोश्वारा भौचरसमेत नउठाई सिधै व्यक्ति तथा संस्थालाई रकम भुक्तानी दिई अनियमितता भएको हो ।

 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, कर्णाली प्रदेश, प्रदेश कार्यालय वीरेन्द्रनगर, सुर्खेतका कर्मचारीहरुले चामुण्डा माध्यमिक विद्यालय दैलेखका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र इलाईट इन्फ्रास्ट्रक्चर डिभलपमेन्ट कन्सल्ट्यान्ट प्रा.लि. काठमाडौं नामक निजी संस्थाका संचालकसमेतसँगको मिलेमतोमा सरकारी सम्पत्ति हानिनोक्सानी पु¥याउने वदनियतले सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।