☰ open Loading... 20 September 2024|  

डेंगु नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन
  | २७ भाद्र २०७९, सोमबार ०५:१०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । डेंगुको सङ्क्रमण बढदै गएपछि मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेंगु नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो ।

 

स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासनमन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल पार्ने  ठाउँ ‘खोजौँ र नष्ट गरौँ’ राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार प्रत्येक स्थानीय तहले ‘प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट’ छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फूल पार्ने ठाउँहरु ‘खोजौँ र नष्ट गरौँ’ भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने छन् ।

 

अभियान सफल बनाउनका लागि स्थानीय जनप्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार सङ्घसंस्था परिचालन गरी वडामा हरेक घरधुरीमा अभियान सञ्चालन गर्ने छन् । सबै स्वास्थ्य संस्थाबाट डेंगुका बिरामीको विवरण स्थानीय तहमार्फत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई पनि पठाउन निर्देशन दिइएको छ । अहिलेसम्म नेपालमा सात हजार पाँच सयभन्दा बढी डेंगुका बिरामी फेला परेका छन् ।