☰ open Loading... 26 April 2024|  

दैलेखमा सहुलियतको खाद्यान्न पाएपछि स्थानीय खुसी
  | २ आश्विन २०७९, आईतवार ०५:२८

यामराज बिष्ट दैलेख । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले सहुलियतको चामल दिएपछि स्थानीय खुशी भएका छन् ।

 

चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा उपभोक्तालाई चामल बिक्री गर्न शुरु गरेपछि  चामल लिनेको घुइँचो लागेको हो । खाद्य संस्थानले शनिबारदेखि  सहुलियतको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई ठूलो राहत मिलेको नारायण नगरपालिका वडा नं –१ का लालबहादुर गुरुङ बताउँछन् ।

सहुलियतको चामल लिन दैलेख सदरमुकाम नारायण नगरपालिका, नौमुले गाउँपालिका, भगवतीमाई गाउँपालिका, दुल्लु नगरपालिका, भैरवी गाउँपालिका महाबु गाउँपालिकाबाट मानिसहरु आउन थालेका छन् ।

शनिबार पहिलो दिनमा दैलेखमा २० क्विन्टल चामल बिक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दैलेखका शाखा प्रमुख रबिन रेग्मीले मध्यान्हलाई बताए । असोज १ गतेदेखि दशैँ, तिहार र छठलाई लक्षित गर्दै बिक्री शुरु गरिएको चामल कात्तिक १५ गतेसम्म छुटमा बिक्री हुने उनले बताए ।

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट सहुलियत छुट मूल्यमा चामल पाउँदा केही राहात मिलेको  जिल्ला समन्वय कार्यालय दैलेख प्रमुख नवराज शाहीले बताए । कतिपय अवस्थामा चामलको दुरुपयोग हुन सक्ने भएकोले त्यसतर्फ सजग रहनुपर्ने र व्यापारीले बिक्री गर्न सक्ने तर्फ चनाखो रहनुपर्ने उनले बताएका छन् ।

 

कार्यालयले सोना मन्सुली, बासमती र स्टिम जिरा मसिनो चामल सहुलियत मूल्यमा बिक्री गरेपछि स्थानियलाई सहज हुने  प्रमुख  शाहीले बताए । खाद्य संस्थानले नागरिकताको आधारमा २ बोरा सम्म चामल दिने गरेको उनको भनाइ छ । कसैले खाद्यन्न घोटला गरेको पाएमा कडा कारबाही हुने समेत उनले जानकारी दिए ।

 

कम्पनीले २५ किलोको स्टिम जिरा मसिनो चामल प्रतिबोरा १ हजार ७ सयमा बिक्री गरिरहेको थियो । अहिले १ हजार ५  सय २५ रुपैयाँमा उक्त चामल बिक्री गरिहेको छ । त्यस्तै १ हजार ४ सय १० पर्ने अरुवा मोटो चामल १ हजार २ सय ७ रुपैयाँमा बिक्री भइरहेको छ भने दाल मसुरो  १ सय ६० रुपौयँ बिक्रि भएको अहिले १ सय ५३  रुपैयाँमा बिक्री भइरहेको छ भने मास १ सय ४५ पहिले बिक्री गरिरहेको अहिले १ सय ३८ रुपैयाँ बिक्रि भएको छ । अहिले प्रत्येक दिन बिहान १० बजेदेखि ३ बजेसम्म मात्र चामल बिक्री गर्न थालिएको छ ।