☰ open Loading... 23 December 2024|  

कर्णालीबाट ५० हजार बढी खसीबोका निर्यात, ६० करोड आम्दानी
  | १७ आश्विन २०७९, सोमबार ०५:०५

सुर्खेत । कर्णाली प्रदेशबाट यो वर्ष दसँैको लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यात भएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी विकास निर्देशनालयका अनुसार उक्त संख्याका खसीबोका र भेडाच्याग्रा निर्यात हुँदा रु ६० करोडभन्दा बढी रकम भित्रिएको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय र प्रदेश सरकारले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरी किसानलाई आकर्षित गर्ने प्रयास गरेकाले पनि पशुपालन व्यवसाय बढेका छन्, त्यसैले उत्पादन पनि बढेको छ ।”

अहिले प्रदेशका चारबटा नाका सुर्खेतको कर्णाली चिसापानी कुइने र हर्य, सल्यानको कालिमाटी काल्चे तथा कपुरकोट नाकाबाट मासुका लागि खसीबोका, भेडालगायत पशु निर्यात भइरहेका छन् । गत वर्ष पनि ५० हजारको हाराहारीमा पशु चौपाय मासुको लागि निर्यात गरिएका थिए । तीमध्ये केही खसीबोका बिक्री नभएर फिर्ता आएको सूचना अधिकारी गिरीले बताउनुभयो । निर्देशनालयका अनुसार दुई हजारभन्दा धेरै खसीबोका र भेडाच्याङ्ग्रा फिर्ता भएको थियो । दसैँतिहारमा कर्णालीका विभिन्न जिल्लाबाट खसीबोका एवं भेडाच्याङग्रा देशका विभिन्न ठूला सहरमा निर्यात हुने गरेको छ ।

विगतका वर्षभन्दा अहिले माथिल्लो कर्णालीका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा भेडाच्याङ्ग्राको उत्पादन वृद्धि भएको देखिएको छ ।