☰ open Loading... 19 September 2024|  

सामुदायिक वन समितिमा २५ लाख घोटाला, ४ जनाविरुद्व मुद्दा दर्ता
  | ३१ आश्विन २०७९, सोमबार ०५:०७

सामुदायिक वन समितिमा २५ लाख घोटाला, ४ जनाविरुद्व मुद्दा दर्ता

 

 

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहितका ४ जनाविरुद्व मुद्दा दायर गरेको छ ।

 

जिल्लाको चुरे गाउँपालिका ३ स्थित गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष मनिराम आचार्य, सचिव हिक्मतसिंह भाट, कोषाध्यक्ष पृथ्वीराज विष्ट र अडिटर गौरीप्रसाद नाथको मिलेमतोमा २५ लाख २४ हजार ३४६ रुपैयाँ अनियमितता भएको दाबी गर्दै मुद्दा दायर गरेको हो ।

 

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरूले समूहका कुनै पदाधिकारीलाई जानकारी नदिई आर्थिक वर्ष २०७२÷०७३ र ०७३÷०७४ मा खर्च गरेको रकम साधारणसभाबाट अनुमोदन नगराई सरकारी रकम हिनामिना गरेको उजुरी परेको थियो । उजुरीमाथि अनुसन्धानका क्रममा सामुदायिक वनबाट भएका आम्दानी रकम बिल भर्पाईविना खर्च गरेको देखाई सक्कल बिल भर्पाई समेत नभएको अख्तियारले जनाएको छ । साथै नक्कली फोटोकपी बिल भर्पाईहरू राखी खाई मासेको पाइएको अख्तियारले जनाएको छ ।

 

अख्तियारले हिनामिना भएको रकम बराबरको बिगो कायम गरी समूहका अध्यक्ष आचार्यबाट असुल गरी कैद र जरिबाना गर्न माग गरेको छ भने सचिव भाट र कोषाध्यक्ष विष्टलाई १८ लाख ३८ हजार ३७२ रुपैयाँ बिगो कायम गरी मुख्य प्रतिवादी मनिराम आचार्य सरहको सजाय हुन माग दाबी गरेको छ ।

 

अर्का प्रतिवादी अडिटर नाथले भए गरेका कुरा लुकाई छिपाई नभएको कुरा उल्लेख गरी अडिट प्रतिवेदन पेश गरी रकम हिनामिना गर्नमा सहयोग गरेको भन्दै कैद तथा जरिवाना माग गरिएको छ ।