☰ open Loading... 19 October 2024|  

चोर्न नसकेपछि आगजनी, जुम्लावासी आक्रान्त
  | ७ कार्तिक २०७९, सोमबार ०५:०८

जुम्ला । सुन्दा सामान्य लाग्ने र ’माइनर क्राइम’का मानिने चोरीका घटनाबाट जुम्ली समाज आक्रान्त छ । जतिबेला ठूला चाडपर्व सुरु हुन्छ त्यति नै वेला चोरीका घटना यहाँ मौलाउने गरेका छन् । चाडबाडको वेला सर्वसाधारण रमझममा लागेको मौका छोपेर चोरले धान सम्पति लुटपुटाउने गरेका छन् ।

११ असोजको राति वीरेन्द्र कपडा पसल र विष्णु सुनचाँदी पसलमा ठूलो आगलागी भयो । आगलागीको कारण चोरी थियो । चन्दननाथ नगरपालिका-९ का तिलक भण्डारीको कपडा पसलको सामान चोरी गर्न नसकेपछि आगो लाइएदिएको अनुमान छ । आगोलागीबाट सबै सामान जलेर नष्ट भयो । यही पसलबाट सल्किएको आगोले विष्णु सुनचाँदी पसल पनि खरानी भयो ।

तिहार नजिकिँदै गर्दा जुम्लामा फेरि यस्तै घटना भएको छ । शनिबार राति ९ बजेतिर न्यु लक्ष्मी सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । चन्दनाथ नगरपालिका-४ का नन्दु सार्कीको सर्भिसिङ सेन्टरमा डिजल र पेट्रोल छर्केर आगलागी भएको छ । सञ्चालक सार्की भन्छन्, ‘शनिबार भएकाले ५ बजेतिर पसल बन्द गरेर घर गएको थिए ।राति साढे ९ बजेतिर पसलमा आगलागी भएको खबर आयो । सटर फोडेर सामान चोर्न सम्भानवा नभएपछि आगजनी गरिएको अनुमान छ ।’ आगजनीबाट केही थान मोटरसाइकल र अटो सर्भिसिङका सबै मेसिन नष्ट भएको उनले बताए । सार्कीका अनुसार २५ लाख बराबरको सामान नष्ट भएको छ ।

जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोसीका अनुसार अहिलेसम्म अनुमान मात्रै गरिएको र थप अनुसन्धान नभइ कसले आगजनी गरेको हो भन्न सकिँदैन । सबैभन्दा बढी चोरीका घटना चाडबाडमा हुने गरेको प्रहरीको अपराधसम्बन्धी वार्षिक आंकडाले देखाउँछ। यसबाट जुम्लासहित देशका कुनै भाग अछुतो छैनन् । प्रहरीको वार्षिक अपराध चार्टभित्र महत्वका साथ समेटिने गरे पनि चोरीका घटनालाई प्रायः सामान्य अपराधका रूपमा लिने गरिएको पाइन्छ ।

अनुसन्धान गर्ने कठिन
तत्कालिन प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइँ हुँदा जुम्ला बजारका मुख्य मुख्य चोकमा सिसिटभी राख्ने निणर्य भएको थियो । चोरी जस्ता आपराधिक गतिविधि रोक्न र प्रहरीलाई अनुसन्धानमा सहज गर्न यस्तो निर्णय भएको हो ।

प्रशासनले सिसिटिभी राख्ने अनुमति दिने र चन्दननाथ नगरपालिकाको आर्थिक सहयोगमा राख्ने भनिएको थियो । यो निणर्य कार्यान्वयन नहुँदा अनुसन्धान गर्न चुनौती भएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने, ‘जुम्लाका हुने आपराधिक गतिविधि रोक्न सिसिटिभी अति आवश्यक छ ।’

यस्तै, नेपाल पत्रकार माहासंघका अध्यक्ष नेत्रबहादुर शाहीले सवारी साधनहरूमा आगलागी गर्ने समूह पनि जुम्लामा छन् । उनले भने, ‘चोरीलाई शहरी जीवन निर्वाहको पेसा’ बनाउनेदेखि मोजमस्तीका निम्ति चोरी गर्नेहरूका समूह बढ्न थालेको छ । यस्ता गतिविधि रोक्न प्रहरीलाई सबैको सहयोग आवश्यक छ ।’