☰ open Loading... 21 September 2024|  

निर्वाचन प्रचारको क्रममा बालबालिकालाई प्रयोग नगर्न आग्रह
  | २२ कार्तिक २०७९, मंगलवार ०५:०३

सुर्खेत । बालबालिकाको क्षेत्रमा कार्यरत कर्णालीका विभिन्न सरोकारवाला व्यक्तिले निर्वाचनको प्रचारप्रसारका लागि बालबालिकालाई प्रयोग नगराउन राजनीतिक दलहरुलाई सचेत गराएका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारका क्रममा गरिने विभिन्न आमसभा, घरदैलो अभियानलगायत कार्यक्रममा बालबालिकालाई सहभागी नगराउन र उनीहरुको पढाइमा कुनै असर नपु¥याउन सचेत गराएका हुन् ।

सुर्खेतस्थित महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको आवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहीले अनुगमनका क्रममा बालबालिकालाई प्रयोग गरिएको पाइएको र यस्तो कार्य कानुन विपरीत भएकाले राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गर्ने छैनौँ भनेर राजनीतिक दलहरुले लिखित प्रतिबद्धता जनाउनुभएको छ, म फेरि त्यो प्रतिबद्धतालाई स्मरण गराउन चाहन्छु ।” त्यति मात्रै होइन निर्वाचन आचारसहिंताले पनि बालबालिकालाई प्रयोग गर्न नपाइने उल्लेख गरेको भन्दै निर्देशक शाहीले राजनीतिक दल र उम्मेदवार यसतर्फ जिम्मेवार भएर लाग्न सुझाव दिनुभयो ।

यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले पनि अनुगमनका क्रममा कर्णालीका केही जिल्लामा निर्वाचनको प्रचारप्रसारका क्रममा बालबालिकालाई प्रयोग गरिएको र झड्पका घटनाहरु भएका पाइएको छ”, उहाँले भन्नुभयो, “देशको नेतृत्व गर्ने राजनीतिक दल र सम्बद्ध उम्मेदवार बालबालिकाप्रति संवेदनशील हुन सकेनन भने के होला ? त्यसैले आगामी दिनमा यस्ता क्रियाकलाप नगर्न र नगराउन सबै निकाय सचेत हुनुपर्छ ।”

यता प्रमुख राजनीतिक दलहरुले भने निर्वाचन आयोगले जारी गरेका प्रावधान र आचारसंहिता कार्यान्वयनबारे सचेत रहेको बताएका छन् ।