☰ open Loading... 21 September 2024|  

नमूना मतदान
  | २३ कार्तिक २०७९, बुधबार ०५:०९

सिमकोटः आगामी निर्वाचनमा बदर मत न्यूनीकरण गर्ने उद्देश्यले हुम्ला र मनाङमा नमूना मतदान गरिएको छ । सात वटा गाउँपालिका रहेको हुम्लामा शुक्रबार नाम्खा गाउँपालिकाबाट नमूना मतदान शुरु भएको थियो ।

 

नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा कात्तिक २० गते र खार्पुनाथ गाउँपालिकामा मंगलबार नमूना मतदान सम्पन्न भएको छ । खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङ्चुमा नमूना मतदानमा कुल ३१ मत खसेकोमा ३० मत सदर र एक मत बदर भएको थियो ।

 

त्यसैगरी सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा कात्तिक २५ गते, चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङमा २७ गते, सिमकोट गाउँपालिकाको सिमकोटमा २८ गते, अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा कात्तिक २९ गते र ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेलामा कात्तिक ३० गते नमूना मतदान हुनेछ ।

 

त्यसैगरी अर्को हिमाली जिल्ला मनाङमा पनि नमूना मतदान सञ्चालन गरिएको छ । मंगलबार जिल्लाका चार वटै पालिकामा नमूना मतदानको अभ्यास गरिएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए ।

 

‘स्थानीय तह निर्वाचनमा बदर मत बढी भएकाले यसपटक बदर त न्यूनीकरणका लागि नमूना मतदान गरिएको हो’, उनले भने । निर्वाचन कार्यालय मनाङका अनुसार मंगलबार सदरमुकामस्थित चामे गाउँपालिका कार्यालय प्राङ्गणमा नमूना भएको छ भने यसअघि नासों, मनाङ ङिस्याङ, र नार्पाभूमि गाउँपालिकामा नमूना मतदान भएको थियो ।