☰ open Loading... 3 March 2025|  

कर्णाली र सुदूरपश्चिमवासीमा भूकम्पको त्रास
  | २४ कार्तिक २०७९, बिहीबार ०५:०९

कर्णाली र सुदूरपश्चिमवासीमा भूकम्पको त्रास

 

 

कर्णाली : कर्णाली र सुदूरपश्चिम प्रदेशवासीहरूमा भूकम्पको सन्त्रास बढेको छ । मङ्गलबार राति २ः१२ बजे पूर्वीचौकी गाउँपालिका–३ डोटी गैरागाउँका छ व्यक्तिको ज्यानै लिने गरी गएको ६.६ रेक्टर स्केलको भूकम्पले दुवै प्रदेशका नागरिकको सातो उडाएको छ ।

 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार बेलुका डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्जमा ९ः०७ बजे गएको ५.७ र राति २ः१२ बजे ६.६ रेक्टर स्केलको भूकम्पले डरलाग्दो झट्का दिएपछि दुवै प्रदेशका नागरिकमा सन्त्रास फैलिएको छ । भूकम्पले सुदूरपश्चिमका नौ र कर्णालीका दशै जिल्लालाई प्रभावित बनाएको छ ।

 

मङ्गलबार राति भूकम्पले घर हल्लिन थालेपछि यहाँका नागरिक घरबाट बाहिर खुलाचौर, सडक किनार र खेतमा जाग्राम बसेर रात बिताए । सर्लाही स्थायी घर भई वीरेन्द्रनगर सुर्खेतमा बस्दै आउनुभएका पूर्ण वर्देवाले फेरि भूकम्प आउने हो कि भन्ने त्रासले रातभर जाग्राम बसेको बताए।

 

हुम्लाका दीपेन्द्र भण्डारीले अलि शक्तिशाली भूकम्प आउँदा कर्णालीका माथिल्लो बस्तीमा ठूलो क्षति हुने बताए । “घर पुराना छन्, भूकम्प प्रतिरोधी भवन कतै पनि छैनन्”, भण्डारीले भने, “भूकम्पको ठूलो झट्का आउनेबित्तिकै गल्र्यामगुर्लुम ढल्ने अवस्था छ”, मङ्गलबारको भूकम्पले धेरैलाई भयभित बनाएको उनले जनाए ।

 

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव दिनेशसागर भुसालले कुनै पनि समयमा विनाशकारी भूकम्प जानसक्ने बताउँदै त्यसबाट बच्न नागरिकलाई सचेत भएर बस्न आग्रह गरिएको बताए । “भूकम्पले मान्छे मार्दैन बरु मान्छेले बनाएका संरचनाले ज्यान लिन्छ”, उनले भने, “त्यसैले बसेको संरचना कति बलियो छ भन्ने ध्यान राखेर पूर्वतयारी गर्न अनुरोध गरेका छौँ ।”