☰ open Loading... 16 September 2024|  

अञ्जनको गाेलमा नेपालले पाकिस्तानलाई हरायो
  | १ मंसिर २०७९, बिहीबार ०५:०५

काठमाडौं : पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा १(० को जित हात पारेको हो ।

 

नेपाललाई जित दिलाउन अञ्जन बिष्टले निर्णायक गोल गरे । उनले खेलको ८३ औं मिनेटमा सुनिल बलको क्रसलाई पोस्टको दिशा दिएका थिए ।

 

नेपालले २००८ पछि पहिलोपटक पाकिस्तानलाई पराजित गरेको हो । त्यसयता भएका पाँच खेलमा नेपालले तीन हार र दुई बराबरीको नतिजा निकालेको थियो । दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

 

खेलको पहिलो मिनेटमै विमल घर्ती मगरले मौका पाए पनि प्रहार गर्न ढिला गर्दा पाकिस्तानका गोलरक्षक युसुफ बटले नियन्त्रणम लिएका थिए ।

 

११ औं मिनेटमा काउन्टर अट्याकमा पाकिस्तानले अवसर पाएपनि एलामगिर घाँजीको पासलाई वाहिद खानले भेट्न नसक्दा गोलरक्षक दीप कार्कीले सहज‌ै नियन्त्रणमा लिए ।

 

४५ औं मिनेटमा अब्दुल्लाह इकवलको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा पाकिस्तान अग्रता लिनबाट चुक्यो । ५४ औं मिनेटमा विमल घर्ती मगर वान भर्सेस वानमा चुक्दा नेपालले अग्रता लिन सकेन ।

 

यही खेलमार्फत मिडफिल्डर आवास लामिछानेले सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् । उनले ५८ औं मनेटमा सेसेहाङ आङ्दाम्बेको स्थानमा मैदान छिर्दै  अन्तर्राष्ट्रिय डेब्यु गरेका हुन् । घरेलु मैदान दशरथ रंगशालामा नेपालको यो ५० औं खेल हो ।