काठमाडौं । निर्वाचन आयोगले आइतबार देशभर भएको आम निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जनाएको छ । आइतबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले अहिलेसम्म प्राप्त विवरणलाई हेर्दा ६१ प्रतिशत मतदान भएको जानकारी दिएका हुन् ।
आइतबार साँझ आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले भने, ‘‘६१ प्रतिशत मतदान भएको देखिएको छ। यो संख्या सम्पूर्ण विवरण प्राप्त भएपछि केही वृद्धि हुनसक्ने आयोगको अनुमान छ।’’
उनले १५ स्थानमा मतदान हुन नसकेकोसमेत जानकारी दिएका छन् । निर्वाचनको समयमा मतदाता र मतपत्रको सुरक्षाको क्रममा एक जनाको मृत्यु भएकोप्रति आयोगले दुःख व्यक्त गरेकाे छ ।
प्रमुख आयुक्त थपलियाले मतपत्र मत गणनास्थलमा पुर्याएपछि काठमाडौं उपत्यकामा आजै र अन्य ठाउँमा प्रक्रिया पूरा गरेर तत्काल गणना सुरु गर्न निर्देशन दिएको बताएका छन् ।