काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा उपसचिव र सव–इन्जिनियरसहित पाँचजनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख उपसचिव डा. तपेन्द्र बहादुर शाह र सव–इन्जिनियर महेश बुढ्थापा तथा उपभोक्ता समितिका तत्कालीन अध्यक्ष बाँचबहादुर सेजुवाल, सचिव माया केसी भाम र कोषाध्यक्ष बिजकन्या भामविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
मुगु छायाँनाथ रारा नगरपालिका वडा नम्बर ४ बालैस्थित गैराज्युला कृषि सिंचाईं आयोजनामा नभएको काम देखाइ बढी रकम मूल्याङ्कन गरेर झुठ्ठा बिल भरपाई, नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदनका आधारमा दुई लाख ११ हजार भुक्तानी गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
सबइन्जिनियर बुढ्थापाले नक्कली बिल भरपाइ, नापी किताब, कार्यसम्पन्न प्रतिवेदन बनाई पेश गरेको र सोही नापी किताब एवं कार्य सम्पन्न प्रतिवेदनलाई एकिन नगरी हचुवाको भरमा स्वीकृत गरी तत्कालीन प्रमुख शाहले उपभोक्ता समितिलाई भुक्तानी दिएको अख्तियारको आरोप छ। शाह र बुढ्थापाविरुद्ध दुई लाख ११ हजार बिगो कायम गरिएको छ ।
गैराज्युला कृषि सिंचाईं निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सेजुवाल, सचिव माया र कोषाध्यक्ष बिजकन्याले सिंचाईं आयोजनामा झुठ्ठा नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गराइ आयोजनास्थलमा वास्तविक भएको कामभन्दा बढी मूल्यांकन गराइ भ्रष्टाचार गरेको आरोप अख्तियारको छ। उपभोक्ता समितिका तीनै पदाधिकारीविरुद्ध दुई लाख ११ हजार बिगो कायम गरिएको छ ।