काठमाडौं : चुनावको पाँच महिनाअघि मात्रै जन्मिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ शक्तिको रुपमा उदाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा फरक–फरक क्षमता भएका उम्मेदवार विजयी भएकाले संसदमा उनीहरूको भूमिका हेर्न बाँकी छ । तर, ठुला दलहरु सशकिंत देखिएका छन् ।
एमाले अध्यक्ष ओली, एमाले नेता विशाल भट्टराई लगायतले टिप्पणी गरेका छन् ।
चितवन–२ बाट भारी मतान्तरका साथ चुनाव जितेका लामिछानेले सरकारमा जाने नजानेबारे धारणा बनाइसकेका छैनन् । यद्यपी बुधबार उनले निर्वाचित भएको प्रमाणपत्र बुझ्दै चुनावमा गठबन्धन नगरिएको र आवश्यक परे गठबन्धनका लागि तयार रहेको बताएका छन् ।
प्रत्यक्षमा हालसम्म सात सिट जितेको स्वतन्त्र पार्टी समानुपातिक तर्फको मतगणना समेतको नतिजालाई हेर्दा सरकार गठनका लागि ‘किङ मेकर’ बन्ने सम्भावना छ । फरक–फरक विधाका मानिसलाई टिकट दिएको रास्वपाको संसदमा पहिलो उपस्थितिलाई आम रुपमा चासोका साथ हेरिएको छ ।
०७९ असार ७ गते निर्वाचन आयोगमा दर्ता भएको रास्वपा संसदमा प्रवेश गर्दै गर्दा उसका आगामी रणनीतिक कदमबारे चासो देखिएको हो। रवि लामिछानेको नेतृत्वमा संसद् प्रवेशको तयारी गरिरहेको रास्वपाले पार्टीको नीति, सिद्धान्तबारे प्रष्ट पारेको छैन ।
प्रदेशसभामा उम्मेदवारी नदिएको रास्वपाको यो नीतिलाई चासोका साथ हेरिएको छ। राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल स्वतन्त्र पार्टीले आफ्नो नीति र सिद्धान्तबारे प्रष्ट पर्नुपर्ने बताउँछन् ।
प्रदेशसभामा उम्मेदवारी नदिएको र मतदान पनि बहिष्कार गरेकाले आफ्नो नीति जनतालाई स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।
‘संघीयताबारे उहाँहरूले स्पष्ट पार्नुपर्यो । उहाँको बाटो के हो भन्न पर्यो। प्रदेशमा आफ्ना उम्मेदवार उठाउनु भएको छैन। संघीयता मानेका छैनन्। संघीयताबारे राप्रपाले जस्तो टुटायर सिष्टमको कुरा गर्नुभएको छ,’ उनले भने ।
छोटो समयमा राष्ट्रिय राजनीतिमा प्रभाव जमाउने गरी उदाएको रास्वपाले सत्ता केन्द्रित राजनीति गर्न नहुने दाहालको भनाइ छ। उनले स्वतन्त्र पार्टी सरकारमा गएर कांग्रेस–एमालेको आग्लो भए जनताको विश्वास गुमाउनेसमेत बताए ।
राजनीतिक विश्लेषक विष्णु सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय पुराना दलप्रतिको आक्रोश भएको बताए । जनताले आक्रोश पोख्ने ठाउँ नपाएकाले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले आक्रोश पोख्ने प्लेटफर्म बनाएको उनको भनाइ छ।
‘पुराना दलप्रति जनता आक्रोशित थिए । उनीहरूले आक्रोश पोख्ने अवसर पाएका थिएनन्। यो आक्रोश स्वतन्त्र पार्टीमार्फत पोखेका हुन्। जनताले आक्रोश पोख्ने नयाँ प्लेटफर्म पाए। यो राम्रो पक्ष हो,’ उनले भने ।
सापकोटाले स्वतन्त्र पार्टीको उदयले कन्जरभेटिभ विचार राख्ने समुदाय पनि उत्साहित रहेको उल्लेख गर्दै उनीहरूले गर्ने काम हेर्न बाँकी रहेको बताए ।
‘स्वतन्त्र पार्टीको उदयले कन्जरभेटिभ विचार राख्ने समुदाय पनि उत्साहित छन् । तर म के भन्छु भने नयाँ आउनु राम्रो हो, नयाँ आएकाले गरेको राम्रो हेर्न बाँकी छ,’ उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा फरक–फरक क्षमता भएका उम्मेदवार विजयी भएकाले संसदमा उनीहरूको भूमिका हेर्न बाँकी छ ।