☰ open Loading... 17 November 2024|  

नक्कली प्रमाणपत्र पेश गर्नेविरुद्ध मुद्दा दायर
  | १९ मंसिर २०७९, सोमबार ०५:००

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी सरकारी सेवामा कार्यरत दुईजनाविरुद्ध मुद्दा दायर गरेको छ । नक्कली प्रमाणपत्र पेश गरी जागीर खाएको भन्दै कैलालीको भजनी नगरपालिकास्थित राष्ट्रिय माविमा कार्यरत शिक्षकमाथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

 

भजनी नगरपालिका–४ स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडमा कार्यरत शिक्षक मथुरा चौधरीमाथि नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार शिक्षक चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन परेको थियो ।

 

निवेदनका आधारमा अनुसन्धान हुँदा चौधरीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको लाभ लिएको पुष्टि भएपछि आइतबार मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।

 

नक्कली प्रमाणपत्र पेश गर्ने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर ठहरिने छ । सो आचधारमा शिक्षक चौधरी बिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको माग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता भण्डारीले जानकारी दिए । यस्तै, आयोगले ओखलढुङ्गाको पूर्वाधार विकास कार्यालयका ल्याब टेक्निसियन राम एकवाल यादवविरुद्ध पनि शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको भन्दै मुद्दा दायर गरको छ ।