☰ open Loading... 19 September 2024|  

चिसो छल्न जुम्लाका भेडी गोठ बेंसी झारिँदै
  | ३ पुष २०७९, आईतवार ०५:०७

जुम्ला। चिसो बढ्न थालेसँगै जुम्लाको हिमाली क्षेत्रका भेडापालक किसान भेडा गोठसहित बेंसी झर्न थालेका छन् । चरण क्षेत्र सुक्दै र चिसो बढ्दै जाँदा जुम्ला भेडीगोठहरु बेंसी झर्न थालेका हो । जुम्ला आठ वटा स्थानीय तह हिँमा, तातोपानी, सिँजा कनकासुन्दरी, पातारासी र गुठीचौर गाउँपालिका लगायतका ठाउँका भेडापालक किसान चिसो छल्न बेंसी झर्न थालेका हुन् । भेडापालक किसान वर्षायाममा लेकतिर जाने र हिउँदमा बेंसी झर्ने गर्दछन् ।

 

हिमाली  जुम्लाका विभिन्न क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि र भेडा चरन क्षेत्रमा हिमपात हुने मौसम शुरु हुन थालेपछि भेडी गोठ बेंसी झार्नुपरेको हिमा १ का किसान दत्तबहादुर शाहीले बताएका छन् ।  उनले भने, ‘हिउँदको समयमा चरन क्षेत्रमा हिमपात हुने हुँदा भेडाबाख्रालाई आहारको समस्या हुने गर्छ  । वर्षायाममा लेक पुग्ने भेडी गोठ हिउँदमा बेंसीमा सार्ने गर्छौं ।’ शाहीले ९ वर्ष अगाडि देखि भेडा पालन व्यवसाय गदै आएको बताए अहिले उनको १ सय १० भेडा बाख्राको संख्या रहेको छ । हिउँदमा अत्याधिक चिसो हुने भएका कारण भेडा मर्न थालेको उनले दुखेसो गरे । मंसिर २० गते यता देखि हालसम्म १५ वटा भेडा मरि सकेको उनले बताए ।

 

हिमा गाउँपालिकको स्वास्थ्य शाखाको टोलिले मरेको भेडाको र्पोष्टमाटम गर्दा भेडालाई निमुनिया भएर मरेको थाहा भएपनि अहिले बेंसी झारेर भेडाबाख्रालाई औषधि उपचार गर्न थालिएको शाहीले बताए ।

 

औषधि प्रयोग गर्दा अहिले भेडा मर्न रोकिएको उनले बताए । प्रत्येक वर्षको जाडो मौसममा भेडाहरु निमुनियाका कारणले मर्ने हुँदा समस्या हुने गरेको उनले बताए ।  गत वर्ष पुस महिना पनि १३ वटा भेडा मरेका थिए । यो वर्ष पनि त्यस्तै गरी मर्न थालेपछि चिन्ता लागेको उनले बताए । जुम्ला पाटनमा भेडि गोठहरु नहुँदा समस्या हुने गरेको उनले बताए । कात्तिकदेखि फागुनसम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले भेडी गोठ बेंसी झार्ने गरिएको तातोपानी ६ का स्थानीयवासी गोगन रावतले बताए ।

 

चिसोले जुम्लाका डाडाँपाखा सुख्खा हुने र चरण क्षेत्रमा पनि सुक्दै जाँदा भेडीगोठहरु बेंसी झार्न बाध्य भएको उनले बताए । अहिले भेडी गोठ हिमाली क्षेत्र पाटनबाट बेंसी झार्न थालिएको हो । जुम्ला जिल्लाका हिमाली क्षेत्रका धेरैजसो किसानको प्रमुख पेसा भेडापालन हो । जुम्लाका एक नगरपालिका र ७ वटा गाउँपालिकाका सबै ठाउँमा पालन व्यवसाय हुने गरेको छ ।

 

देशमा भेडा बाख्राको संख्या घट्दो क्रममा रहेपनि जुम्लामा भने भेडा बाख्राको संख्या बढ्दो क्रममा रहेको छ । जुम्लामा अनुमानित ८८ हजार जति भेडा बाख्राको संख्या रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बढ्थापाले बताए ।जुम्ला भेडा बाख्राको १ सय ६० पोल्टीफर्म दर्ता भएको उनले बताए । भेडा बाख्राको संख्यामा वृद्धि गर्नको लागि जुम्लाको हिमा गाउँपालिका १ मा भेडा सा्रेत केन्द्र स्थापना गरिएको छ । जुम्लामा ८ सय किसानले भेडा बाख्रा पालेका छन् ।