☰ open Loading... 20 September 2024|  

जुम्ली स्याउलाई बजारको अभाव
  | ४ पुष २०७९, सोमबार ०५:१०

बजारीकरण नहुँदा जुम्ली स्याउले उचित मूल्य पाउन सकेको छैन । जुम्लामा स्याउ, मार्सी चामल, सिमी, ओखर लगायतका अर्गानिक बस्तु बिक्रिवितरण गर्न मौसम अनुसारको उपयुक्त बजार नहुँदा उचित मूल्य पाउन नसकेको हो । अधिकांश जुम्लाका स्याउ किसानले भदौ, असोज महिनामै बजारमा बिक्रीका लागि लिने गरेका छन् । केही किसानले उचित मूल्य पाइने आशामा मंसिर र पुससम्म पनि स्याउ भण्डारण गरी राख्ने गरेका छन् ।

 

सिञ्जा गाउँपालिका ५ का रामसिंह रावलले दसैँमा नेपालगञ्ज लैजान टिपेर कार्टुनमा राखेका स्याउ ढुवानी गर्ने गाडी नपाउँदा बिक्री गर्न पाएका छैनन् । मध्यान्हसँग कुरा गर्दै उनले भने, ‘गत वर्षहरुमा सुर्खेत, नेपागन्ज ,काठमाडौं, दाङ लगायतका बाहिरी जिल्लामा लिइ बिक्रीवितरण गर्न गरेको भएपनि यो वर्ष कात्तिकमा परेको अविरल वर्षाका कारणले यतायात अवरुद्ध हुँदा बाहिरी जिल्लामा स्याउ बिक्रीका लागि लैजान नसक्दा अहिले समस्या आएको छ ।’ रावलले यो समयमा जुम्ला बजार आसपासका क्षेत्रमा स्याउ होम डेलिभरी गर्ने काम गर्दै आएका छन् । एउटा १३ केजीको स्याउको काटुनलाई रु.१ हजार रुपैयाँमा बिक्रिवितरण गर्दै आएको उनले बताए ।

 

समयमै ढुवानी नहुँदा किसानलाई स्याउ बिक्री वितरण गर्न सकस हुने गरेको छ ।  चन्दननाथ नगरपालिका वडा नम्बर २ की कृष्णमाया कुमाईले स्याउ बिक्री नहुँदा समस्या भएको दुखेसो गरिन् । उनले भनिन्, ‘गोलडेन स्याउ ५० रुपैयाँमा बेच्ने गरेको छु । त्यो पनि बिक्रि नहुने हुँदा दुःख लागेको छ ।’ वर्षयाम भरी बगैँचा व्यवस्थापन गर्नु, मलखाद हाल्न, गोडमेल गर्न, रोग किराको व्यवस्थापन गर्न धेरै खर्च हुने गर्छ । तर खर्च उठाउन ५० रुपैयाँमा स्याउ बिक्रि गर्दा पनि बिक्री नहुँदा ठूलो समस्या हुने गरेको उनले बताइन् । त्यस्तै अर्का किसान तातोपानी गाउँपालिका वडा नम्बर ३ का भरत चौलागार्इंले मौसम अनुसारको बजारीकणको समस्याले भएको बताए ।

स्याउ उत्पादन बढ्यो

जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जानकारी दिएका छन् । गत आवमा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । स्याउ उत्पादन बढेपनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । हाल उत्पादित १८ हजार मेट्रिक टनमध्ये नौ हजार मेट्रिक टन स्याउ नेपालगञ्ज लगायतका बजारमा पठाइएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिएका हुन् ।

 

यसअघि व्यवसायीले प्रतिकिलो रु.५० देखि रु.५५ मा स्याउ खरिद गरी रु. ६७ देखि रु. ७० मा बिक्री गर्दै आएका थिए । तर अहिले किसान त्योभन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएको चन्दननाथ नगरपालिका १० का स्याउ व्यापारी तिर्थराज आचार्यले बताए ।