☰ open Loading... 19 September 2024|  

संसदीय दलको नेता बन्न संघर्षरत कर्णालीका नेता
  | ५ पुष २०७९, मंगलवार ०५:१६

आम निर्वाचनको प्रत्यक्ष र समानुपातिकको नतिजा सार्वजनिक भएसँगै कर्णालीमा दलको नेता बन्ने होडबाजी शुरु भएको छ । नेताहरु संसदीय दलको नेता बन्न दौडधुपमा व्यस्त रहेका छन् ।

 

राष्ट्रपतिले सरकार गठनका लागि समय सिमा दिएसँगै केन्द्रदेखि प्रदेशसम्म सरकार गठनका लागि तयारी शुरु भएको छ । कर्णाली प्रदेशमा अहिले नेताहरु संसदीय दलको नेता बन्न नेतृत्व र दलको चुनावमा सहभागी हुने सांसदहरुलाई फकाउन थालेको देखिन्छ ।
२०७९ को आम निर्वाचनमा कर्णालीमा पाँच दलले प्रतिनिधित्व गरेका छन्, भने तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र  र नेकपा एमालेले ससदीय दल गठन गर्नुपर्ने छ ।

 

नेता चयनको प्रक्रिया सम्बन्धित संसदीय दलको विधानबमोजिम हुनेछ । दलको नेता चयन गर्दा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्ने, सर्वसम्मत नभए निर्वाचनबाट टुंगो लगाउने प्रचलन रहि आएको छ । जस अन्तर्गत २०७४ को निर्वाचन पश्चात कर्णाली प्रदेश सभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य रहेका दैलेखका हिम बहादुर शाहीले गरेका थिए ।

 

४० सदस्यीय रहेको कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस १४, नेकपा माओवादी केन्द्रले १३, नेकपा एमालेले १० र नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रले १÷१ सांसद सिट हात पारेका छन् । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ प्रदेशसभामा कम्तीमा दुई सिट जितेका दलले नेता चयन गर्ने संवैधानिक व्यवस्था रहेको छ । जस अन्तर्गत तीन दलले संसदीय दल गठन गर्नेछन् । चुनाव प्रचारप्रसारका बेलादेखि नै मुख्यमन्त्रीका रुपमा चर्चा गरिएका नेताहरु थिए ।

 

कांग्रेसबाट हुम्लाका जीवन बहादुर शाही र जाजरकोटका राजीव विक्रम शाह, नेकपा एमालेबाट सुर्खेतका यामलाल कँडेल र दैलेखका विनोद कुमार शाह र नेकपा माओवादीबाट सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका राजकुमार शर्मा रहेका छन् । रुकुम पश्चिमका राजकुमार शर्मा रुकुम पश्चिमका निवर्तमान जिल्ला समन्वय समितिको संयोजक र पार्टीको पूर्व प्रदेश कमिटी अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । यता विष्ट सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ बाट निवर्तमान सांसद र कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री भइसकेका व्यक्ती हुन् । विष्ट शक्ति बस्नेत निकटका नेता मानिन्छन् । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही संघमा उम्मेदवारी दिए पश्चात शर्मा र विष्टले मुख्यमन्त्रीमा दावी गरिरहेका थिए  ।

 

यस्तै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका यामलाल कँडेलले कर्णालीको संसदीय दलको नेता बन्ने विषयमा पार्टीले निर्णय गर्ने बताउँदै अहिलेनै यस विषयमा प्रतिक्रिया दिन नमिल्ने बताए । प्रदेश अध्यक्ष समेत रहेका विनोद कुमार शाहले भने आफु पार्टीको प्रदेश अध्यक्ष भएका कारण इच्छा रहेको र पार्टीले जिम्मेवारी दिए दलको नेता बन्न तयार रहको प्रक्रिया दिए । पार्टीमा गरेको मेरो योगदानलाई गदर गर्ने कुरामा विश्वस्त रहेको उनको भनाई रहेको छ ।

 

यता नेपाली काग्रेसबाट शाहले आफु मुख्यमन्त्री बन्ने दावी गरिरहँदा बहालवाला मुख्यमन्त्री जीवन बहादुर शाही पुनः मुख्यमन्त्रीमै दोहोरिने दाउँमा रहेका छन् । मुख्यमन्त्री शाहीले अहिले आफु मुख्यमन्त्री हुँदै गर्दा बाँकी रहेका काम पूरा गर्न र चुनावपछि पनि सरकारको नेतृत्व गरेर प्रदेशमा स्थायित्वको सन्देश दिन प्रदेशमा उम्मेदवार बनेको बताउँदै आएका छन् । उनी यसअघि हुम्ला जिल्ला विकास समितिको सभापति, पर्यटनमन्त्री र हुम्लाबाट तीन पटक सांसद भइसकेका छन् ।

 

बहालवाल मुख्यमन्त्री शाहीले केन्द्रका नेताहरूकै सल्लाहमा एक खालको सहमति भएर नै मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेशमा पुनः उम्मेदवार बनेको बताएका छन् । उनलाई कतिले मुख्यमन्त्री बन्नको लागि शुभकामना दिएका छन्, शाहिले पनि संसदीय दलको विषयमा पार्टीले नै निर्णय गर्ने हँुदा अहिले बोलन उपयुक्त नभएको प्रतिक्रिया दिए । बाहालवाला मुख्यमन्त्री समेत रहेका जीवन बहादुर शाहीले संसदीय दलको नेता आफु नै रहने दावी गरीरहँदा पूर्व संविधानसभा सदस्य समेत रहेका राजीव विक्रम शाहले पनि संसदीय दलमा आफ्नो दावी प्रस्तुत गर्दै आइरहेका छन् । कतिले राजीव विक्रम शाहलाई मुख्यमन्त्री बनाउन जोड गरेका छन् ।

 

यस्तै जाजरकोट प्रदेशसभा ‘ख’ बाट निर्वाचित बनेका शाहले पनि आफु मुख्यमन्त्री बनि नयाँ विकासका कामलाई तीव्रता दिने बताएका छन् । शाहले अहिलेको जनताले परिर्वतन चाहेको हुँदा त्यसलाई आफुले सजिलै परिर्वतन गर्ने बताएका छन् । शाहले आफु जनताका समस्याका साथै नयाँ भिजन बोकेर कर्णाली प्रदेशलाई सहयोग गर्ने उद्देश्यले आएको बताउँछन्् । शाहले समयको माग अनुसार संसदीय दलमा मेरो उम्मेदवारी रहने र कर्णालीको नेतृत्व लिने सोचका साथ तयारी गरिरहेको जानकारी दिए ।

 

अहिले पुस्तान्त्रणको कुरा आइरहँदा कर्णालीको कांग्रेसमा पनि पुस्ता हस्तान्त्रण हुनुपर्ने उनको भनाई रहेको छ । यस्तै नेकपा माओवादीबाट रुकुम पश्चिम प्रदेश सभा ‘ख’ बाट निर्वाचित भएका  र संसदीय नेतामा दावी गरिरहेको राजकुमार शर्माले दलको नेता बन्न माओवादी कर्णालीका १३ जना सांसदको अधिकार भएको भन्दै पार्टीले गरेको निर्णयलाई सिरोपर गर्ने बताए । जनमुक्ति सेना निर्माण, विगतमा प्रदेशको पार्टीको नेतृत्व र पार्टीमा आफ्नो योगदान महत्वपुर्ण भएको भन्दै पार्टीले आफुलाई दलको नेता बनाउनेमा विश्वस्त रहेको शर्माले बताए ।

 

यता दलको नेताका आकांक्षी रहेका विन्दमान विष्टले दलको नेताका लागि योग्य भएको भन्दै पार्टीले दिएको जुन सुकै जिम्मेवारी पनी सम्हाल्न तयार रहेको बताए । पहिला पनि प्रदेश सभा सदस्य तथा अर्थमन्त्री भइसकेको कारणले दलको नेतामा योग्य भएको र बाँकी कुराको निर्णय पार्टीले गर्ने उनको भनाई रहेको छ । दलको प्रमुख सचेतक तथा सचेतक नियुक्त गर्ने तथा मुख्य मन्त्रीको जिम्मेवारी सम्हाल्ने  अधिकार संसदीय दलको नेता भएको कारण दलको नेतामा आकर्षण बढेको देखिन्छ । संसदमा हुने संसदीय गतिविधिमा संसदीय दलको नेताको निर्देशनमा प्रमुख सचेतक वा सचेतकले दलभित्र सदस्यहरूलाई परिचालन गर्ने जिम्मेवारी पनि दलकै नेताको हुने गर्दछ ।