☰ open Loading... 7 September 2024|  

कर्णाली प्रदेशसभामा २२ दलको धरौटी जफत
  | ५ पुष २०७९, मंगलवार ०५:२३

सुर्खेतः निर्वाचन आयोगले कर्णाली प्रदेश सभाको लागि तयार पारेको प्रदेश सभा निर्वाचन २०७९ को परीणाम प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरेको छ। प्रदेश सभाको हकमा प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने प्रावधान बमोजिम निर्वाचन आयोगबाट परिणामसहितको प्रतिवेदन शनिबार कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार समक्ष प्रस्तुत गरिएको हो।

आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार कर्णाली प्रदेश सभातर्फ ४० जना निर्वाचित भएका छन्। जसमा पुरुष २५ जना (६२ दशमलव ५ प्रतिशत) र महिला १५ जना (३७ दशमलव ५ प्रतिशत) निर्वाचित भएका छन्।

आयोेगका सह–सचिव यज्ञप्रसाद भट्टराईले प्रदेश प्रमुख परियार समक्ष पेश गरेको प्रतिवेदन अनुसार कर्णाली प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ २८ राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए।

प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष ११३ र महिला ३ गरी कूल ११६ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिक निर्वाचन प्रणालीमा कूल २०० जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो।

प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि महिला ४ लाख ९७ हजार ९२८०, पुरुष ५ लाख १० हजार ४२० र अन्य ३ गरी कूल १० लाख ८ हजार ४०३ मतदाता कायम रहेको आयोगले जनाएको छ।

कर्णालीमा १० लाख भन्दा बढी मतदाता संख्या थियो। तर, निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचनमा ६ लाख १४ हजार ७१७ (६० दशमलव ९६ प्रतिशत) मत खसेको थियो।  जसमध्ये ५ लाख ८९ हजार ४८४ (९५ दशमलव ९ प्रतिशत) मत सदर भएको थियो भने २५ हजार २३३ (४ दशमलव १०) प्रतिशत मत बदर भएको छ।

यस्तै, प्रदेश सभाका लागि गरिएको समानुपातिक निर्वाचनमा ६ लाख १३ हजार ५०९ (६० दशमलव ४ प्रतिशत) मतदान भएको थियो, जसमध्ये ५ लाख ७७ हजार ८२९ (९४ दशमलव १ प्रतिशत) मत सदर भएको थियो भने ३५ हजार ६८० (५ दशमलव ८२ प्रतिशत) मत बदर भएको छ।

प्रदेश सभा सदस्यको लागि निर्वाचनमा भाग लिएका २२ वटा राजनीतिक दलहरुको धरौटी जफत गरिएको निर्वाचन आयोगले जनाएको छ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रदेश सभातर्फ बन्दसूची पेश गर्ने दलमध्ये कर्णाली प्रदेशमा २२ वटा राजनीतिक दलको धरौटी जफत गरिएको हो।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ।

सो व्यवस्थाअनुसार कर्णाली प्रदेशमा ५ (पांच) वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ३७ वटा राष्ट्रिय संस्थाका ७ हजार ५५३ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकबाट निर्वाचन पर्यवेक्षण भएको थियो। निर्वाचित प्रदेश सभा सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ।