☰ open Loading... 19 September 2024|  

महासंघको साधारणसभाका लागि देशभरका पत्रकार सुर्खेतमा
  | ८ पुष २०७९, शुक्रबार ०५:०६

सुर्खेत। देशभरका पत्रकारहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भेला भएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाका लागि देशभरका पत्रकार सुर्खेतमा भेला भएका हुन् । शुक्रबार र शनिबार वीरेन्द्रनगरमा हुने साधारणसभाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 

कार्यक्रमको उद्घाटन समारोहमा नेपाल सरकारका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महरा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही र कर्णालीका विभिन्न पालिकाका प्रमुखहरुको उपस्थिति रहने पत्रकार महासंघ सुर्खेत शाखाका सचिव ललित बुढाले जानकारी दिए ।

 

शुक्रबार बिहान ८ बजे मंगलगढीबाट प्रभातफेरी पश्चात १० बजे राष्ट्रपतिले साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । देशभरबाट आउने पत्रकारहरुका लागि बस्नका लागि वीरेन्द्रनगरका २२ वटा होटलको व्यवस्था गरिएको छ भने पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्ने व्यवस्था मिलाइएको पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले जानकारी दिए ।

 

७७ वटै जिल्लाबाट ७ सयभन्दा बढी पत्रकारको सहभागिता हुने कार्यक्रमका लागि विभिन्न समिति र उपसमितिहरू निर्माण गरी व्यवस्थापनको तयारी गरिएको छ । साधारण सभाको तयारी पूरा भएसँगै नेपाल पत्रकार महासंघ केन्द्रीय साधारण सभाको बैठकको आयोजना गरिएको छ ।

 

उनका अनुसार शुक्रबार बिहान ८ बजे वीरेन्द्रनगरको मंगलबढी चोकबाट प्रभातफेरी शुरु भई त्यसपछि उक्त अधिवेशनको उद्घाटन राष्ट्रपति भण्डारीले बिहान ९ बजे गर्ने कार्यक्रम तय भएको महासंघले जनाएको छ । साधारण सभा वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिँदैछ । महासंघका केन्द्रीय महासचिव रोशन पुरीले महासंघको विगतदेखि भइआएका गतिविधि र महासंघले आगामी दिनमा गर्नुपर्ने कार्य योजनाको बारेमा वृहत छलफल हुने बताए । अधिवेशनमा महासंघका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसिएट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा नेजा र एन्जाका पदाधिकारी सदस्य गरी ७५० राष्ट्रिय परिषद् सदस्यको सहभागिता रहेको महासचिव पुरीले जनाए । उनका अनुसार साधारण सभाको लागि आर्थिक दायित्व केन्द्रीय समितिले नै गरिरहेको छ ।