☰ open Loading... 19 September 2024|  

जुम्लामा २७ प्रतिशत विद्युतीकरण, चार पालिका राष्ट्रिय प्रसारण लाईनमा
  | ८ पुष २०७९, शुक्रबार ०५:०८

जुम्लामा अहिलेसम्म २७ प्रतिशत मात्र विद्युतीकरण भएको पाइएको छ । जुम्लाका अन्य ग्रामीण गाउँबस्ती विद्युतको पहुँचमा पुग्न सकेका छैन्। जुम्लामा १ लाख १९ हजार ३ सय ७७ जनसंख्या रहेको छ । २०७९ सालसम्म २७ प्रतिशत मात्र विद्युतको पहुँचमा पुगेको छ ।

 

अबको दुई वर्षभित्र शतप्रतिशत जुम्लालाई विद्युतीकरण गर्ने लक्ष्यका साथ योजना अगाडि बढाइएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले बताए । विद्युतको समस्यालाई मध्यजर गर्दै हाई भोल्टेजको ट्रान्समिटर लाइन ल्याउने, १३२ केभीको सवस्टेशन बनाउने, कर्णाली प्राविधिक शिक्षालय जुम्लामा ३३ बाई ११ को सवस्टेसन निर्माण गर्ने तयारीका साथ सामग्री संकलन गरिसकेको उनले बताए ।

 

प्राधिकरणका अनुसार दैलेखको चुप्रा दुल्लु १५० किमी, दुल्लु कालीकोट ६० किमि र कालीकोट–जुम्ला ८० किलोमिटरमा ३३ केभीको लाइन जोड्न सफल भएको विद्युत वितरण केन्द्रले जनाएको छ । सो लाइन सदरमुकाम खलङ्गामा नपुग्दा यहाँका झण्डै तीन हजार ३०० उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका थिए । प्रसारण लाइन जुम्लासम्म पुग्दा यहाँका स्थानीय केहि रुपमा भएपनि खुसी भएका छन् ।

 

जुम्लाका चार पालिका राष्ट्रिय प्रसारण लाईनमा 

जुम्ला राष्ट्रिय प्रसारण लाईनमा जोडिएको १७ महिना पुगेको छ । २०७८ साल साउन २३ गते जुम्ला विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । एक वर्ष पाँच महिनामा जुम्लाका चार पालिका राष्ट्रिय प्रसारण लाईनमा जोडिएको नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ । सबै भन्दा कम विद्युतिकरण भएको जिल्ला जुम्ला विद्युतको पहुँचमा ल्याउने उद्देश्यले ११ केभिको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले बताए । आठ स्थानीय तहमध्ये चन्दननाथ नगरपालिका, गुठीचौर, तातोपानी र तिला गाउँपालिकाका केहि गाउँबस्तीहरु राष्ट्रिय प्रसारण लाईनमा जोडिएका छन् ।

 

चन्दननाथ नगरपालिकाका १० वटै वडा, गुठीचौरका २ वटा, तातोपानीका ५ वटा, तिलाका ३ वटा वडा राष्ट्रिय प्रसारण लाईनमा जोडिएका छन् । जुम्लाको सदरमुकाम, छिना, मिँचा श्रीढुस्का, उमगाड, श्रीगर,लाम्रा, एैरेनी, धौलापानी, तातोपानी, लिताकोट, राँका, बाईराँका, कुडारी, त्रिवेणी,राराहिली, सापुल्ली र नुवाकोटका बस्तीहरु विद्युतको पहुँचमा पुगेसकेका छन् ।

 

हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि लाईन विस्तार गर्ने काम भइरहेको छ । नाग्म हुँदै हिमा गाउँपालिको जुगाडसम्म लाईन विस्तार भइ सकेको छ । जुम्लाका सबै स्थानीय तहमा लाईन विस्तार कामलाई पहिलो प्राथमिकता दिएको वितरण केन्द्र जुम्लाले जनाएको छ । चन्दननाथ नगरपालिकामा रहेको साना जलविद्युत उपभोक्ता समितिका २ हजार ६ सय उपभोक्ता भएको भएपनि राष्ट्रिय प्रशारण लाईन जोडिएसँगै अहिले ३ हजार ९ सय उपभोक्ता छन् ।