☰ open Loading... 16 September 2024|  

सामाजिक सञ्जालले पत्रकारिता छायाँमा : राष्ट्रपति भण्डारी
  | ९ पुष २०७९, शनिबार ०५:०३

सुर्खेत : राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिताको मर्यादामाथि गम्भीर हुन आग्रह गरेकी छन् । सुर्खेतमा शुक्रबार नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले पत्रकारितालाई स्वच्छ, निष्पक्ष, मर्यादित र विश्वसनीयतामा गम्भीर चिन्तन गर्न आग्रह गरेकी हुन् ।

 

राष्ट्रपति भण्डारीले प्रेस जगतले सूक्ष्म निगिरानी राख्नुका साथै स्वच्छ तरिकाले राज्य र समाजबीचको दायित्व पूरा गर्नुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीले डिजिटल प्रविधिको उच्चतम प्रयोगसँगै सामाजिक सञ्जालले पत्रकारितालाई छायाँमा पार्न खोजेको गुनासो पनि गरिन् ।

 

राज्यले प्रेस तथा अभव्यिक्ती स्वतन्त्रताको संरक्षण गर्नुपर्नेमा उनले जोड दिइन् । मुलुकको प्रणालीले राम्रोसँग काम गर्न नसके प्रजातन्त्रको औचित्य नहुने भन्दै राज्यका निकायले जनताको सुरक्षाको ग्यारेण्टी गरिनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ । उनले राज्यले सबैलाई समान अवसर देओस् भन्ने जनताको चाहना रहेकाले सरकारले त्यसतर्फ ध्यान केन्द्रित गर्न आवश्यक रहेको पनि बताइन् ।

 

यस्तै सधारण सभामा नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा देखिएको समस्या समाधानमा प्रेस जगतको ठूलो भूमिका रहेको बताए ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आजभन्दा १५ वर्षअघि आफू सञ्चारमन्त्री हुँदा श्रमजीवी पत्रकारको हितमा काम गरेको बताए । उनले राष्ट्रिय राजनीतिका सन्दर्भमा सरकार गठनका लागि कुनै सहमति नभएको बताए ।

 

यस्तै नेपाल पत्रकार महासंघका पूर्व सभापति हरिहर विरहीले सञ्चार क्षेत्रमा उल्लेख्य सुधारको आवश्यकता रहेको बताए । साथै महासंघका पूर्वअध्यक्ष किशोर नेपालले संविधानको भावनाअनुरुप दल र नेपालको राजनीतिक प्रणाली जान नसकेको बताए ।

 

साधारण सभामा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई एक लाख नगद राशी रहेको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । त्यस्तै सुर्खेतका माया थापाले २० हजार रुपैयाँ राशीको गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरिन् भने साधारण सभामा करिब दुई दर्जन पत्रकारलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो ।

 

साधारण सभामा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी पत्रकार संगठनका केन्द्रीय अध्यक्षहरु शिव लम्साल, गणेश बस्नेत, विष्णुप्रसाद सापकोटा र विश्वमणि सुवेदीले साधारण सभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

 

कार्यक्रममा देशभरका ७ सय बढी पत्रकारहरु सहभागी भएका छन् । महासंघको साधारण सभा शनिबारसम्म वीरेन्द्रनगरको सिटीहलमा चल्नेछ ।