☰ open Loading... 18 October 2024|  

रारा गाउँमा खानेपानीको अभाव
  | १० पुष २०७९, आईतवार ०५:१९

जुम्लाको तिला गाउँपालिका–१, रारा गाउँमा खानेपानीको अभाव भएको छ । ४३ वर्ष अघि बनेको दुम्कली खानेपानी आयोजनाको मुहान सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव भएको स्थानीयवासी बताउँछन् ।

रारा गाउँभन्दा तल तिला नदी छ । तर नदीमा पिउन योग्य पानी बग्दैन । गाउँ छेउबाटै बग्ने नदीको पानी खेर गइरहे पनि यहाँको खेतीयोग्य भूभागमा सिंचाईको समेत समस्या छ ।

स्थानीयवासी धनराज रावतका अनुसार गाउँमा पानीकै समस्याले गर्दा स्कुले विद्यार्थीको पढाइमा समेत बाधा पुग्ने गरेको छ । गाउँमा चार वटा धारा भए पनि दैनिक दुई घण्टामात्र पानी आउँछ । पानी आउने बेलामा घर–घरबाट धारामा लाइन लाग्न जानुपर्ने बाध्यता छ । ‘कयौं बालवालिकाले पानी भर्नकै लागि विद्यालय छुटाउँछन्,’ रावतले भने, ‘यो गाउँका विद्यार्थीलाई बिहान र बेलुका आफ्नो गृहकार्य भन्दा पनि घरमा पानी छ कि छैन भन्ने पिरलो हुन्छ ।’

पानीको लाइनमा बस्दा बस्दै गृहकार्य गर्न समय नै नहुने सीता माध्यमिक विद्यालयमा अध्ययनरत उषा बुढाले बताइन् । संघीय खानेपानी आयोजनाले चालु आर्थिक वर्षमै खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेको तिला–१ का वडाध्यक्ष जंगबहादुर बस्नेतले बताए । रारा गाउँ क्षेत्रमा वन जंगल नहुँदा पानीका मुहान छैनन् । छिमेकी वडाबाट पानी ल्याउनु बाहेक विकल्प नभएको उनले जनाए । उनका अनुसार यो गाउँका लागि बृहत खानेपानी योजना निर्माणाधीन अवस्थामा छ । संघीय खानेपानी आयोजनाले न्यून बजेट विनियोजन गरेका कारण आयोजना सम्पन्न हुन नसकेको उनले बताए ।