☰ open Loading... 19 October 2024|  

चिसो बढेसँगै तराई झर्न थाले हुम्लाबासी
  | १२ पुष २०७९, मंगलवार ०५:१०

। जिल्लामा अत्याधिक चिसो बढेपछि यहाँका बासिन्दा तराई झर्न थालेका छन् । मंसिर पहिलो साता हिमपात भएपछि चिसो बढेको थियो । सदरमुकाम सिमकोटकै तापक्रम माइनस ९ डिग्रीसम्म पुगेको छ । चिसोका कारण बर्सेनी हुम्लाका बासिन्दा जाडो छल्न नेपालगन्ज, सुर्खेत, काठमाडौंलगायतका शहर जान्छन् । चिसो छल्न बाहिर जानेहरूकै कारण सिमकोट विमानस्थल व्यस्त बनेको छ ।

 

अहिले विमानस्थलमा प्रतिदिन ५ वटासम्म उडान भइरहेका छन् । विशेषगरी उत्तरी क्षेत्रका नाम्खा गाउँपालिका, सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाबाट बाहिर जानेहरूको संख्या बढेको छ । हुम्लामा सबैभन्दा बढी चिसो र हिमपात हुने नाम्खा गाउँपालिकामा यो वर्ष विकास निर्माणका कुनै काम शुरु भएका छैनन् । विकास बजेट छुट्याएको भएपनि नाम्खा गाउँपालिकाका स्थानीय तराईबाट फर्किएपछि वैशाखबाट मात्र काम शुरु गर्ने गरेका छन् ।

 

अहिले नाम्खा गाउँपालिका–६ लिमी झन्डै २ फिटसम्म हिउँ जमेको छ । लिमीका बासिन्दाहरूलाई बाक्लो हिउँ परेपछि गाउँ बाहिर निस्कन नै समस्या भएको लिमी वडा अध्यक्ष पाल्जोर तामाङले बताए । अध्यक्ष तामाङका अनुसार नाम्खा गाउँपालिकाका योजनाहरु अव वैशाख जेठमा हिउँ पग्लेपछि मात्र संचालन हुने बताए ।